काठमाडौं । युरोपेली च्याम्पियन्स लिग फुटबलको यो सिजनको अन्तिम १६ पुग्ने टिम सबैको टुंगो लागिसकेको छ । अबदेखि युरोपका १६ क्लबबीच माथिल्लो स्तरमा प्रतिस्पर्धा चल्नेछ ।
यस्तोमा प्रश्न हो, यो सिजन युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा कुन देशको वर्चस्व रह्यो त ? यो प्रश्न किन सान्दर्भिक हुन्छ भने यो त्यही प्रतियोगिता हो, जसको माध्यमबाट युरोपमा कुन लिग सबैभन्दा राम्रो भनेर निष्कर्ष निकालिन्छ ।
युरोपेली च्याम्पियन्स लिगमा केही वर्ष अगाडिसम्म स्पेनको वर्चस्व चल्ने गर्थ्यो । कुनै समय यस्तै स्थिति इटालीको थियो । तर अहिले समय फेरिएको छ । युरोपेली फुटबलमा अहिले कसैको स्वर ठूलो सुनिन्छ भने त्यो इङ्ल्यान्डको हो, त्यहाँको इङ्लिस प्रिमियर लिगको हो ।
सबैभन्दा पहिले अन्तिम १६ मा पुगेका देशतर्फ नै आँखा लगाऔं । यसपल्ट प्रिमियर लिगका ६ क्लब अन्तिम १६ मा पुगेका छन् । त्यसमध्ये न्युक्यासल युनाइटेड मात्र नकआउटको प्लेअफबाट त्यहाँ पुगेको हो ।
लिग चरणको समाप्तिमा शीर्ष आठमा रहेर आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी र टोटनहम सिधै अन्तिम १६ मा पुगेका थिए । स्पेनका तीन क्लबले यसपल्ट प्रतियोगिताको अघिल्लो चरण खेल्नेछन् । ती हुन् एट्लेटिको मड्रिड, बार्सिलोना र रियाल मड्रिड । इटालीबाट एकै टिममात्र अन्तिम १६ मा पुगेको छ । यो उपलब्धि चुम्ने क्लब हो, एटलान्टा । यो टिम पनि अगाडि नबढेको भए इटालीको फुटबलका लागि दूर्घटना नै परेजस्तो हुन सक्थ्यो ।
बरू, जर्मनीबाट दुई क्लब छन्, बायर लेभरकुसन र बायर्न म्युनिख । प्रतियोगितामा चुनौती कायम रहेका एक–एक क्लब भएका देश र तिनका प्रतिनिधि क्लबमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पिएसजी), पोर्चुगलको स्पोर्टिङ सिपी, नर्वेको बोडो/गिल्म्ट र टर्कीको गालाटासारे हुन् । यो सूचीले देखाउँछ, युरोपेली क्लब फुटबलको शक्ति समीकरण कस्तो छ भनेर । त्यस अर्थमा इङ्लिस फुटबलका लागि अहिले राम्रो समय चलिरहेको छ भन्दा हुन्छ ।
च्याम्पियन्स लिगपछि आउने गर्छ, दोस्रो ठूलो प्रतियोगिताका रूपमा युरोपा लिग । यसको पनि अन्तिम १६ को समीकरण तयार भइसकेको छ । यसमा पनि इङ्लिस प्रिमियर लिगको दुई प्रतिनिधित्व छ । ती हुन्, एस्टन भिल्ला र नटिङ्घम फरेस्ट । त्यसपछि पोर्चुवलका दुई क्लब छन्, पोर्टो र ब्राग । फ्रान्सबाट पनि दुई टिम लियोन र लिलेले अन्तिम १६ को चरण खेल्नेछ । स्पेनबाट यो चरणमा रियाल बेटिस र सेल्टा भिगोको प्रतिनिधित्व हुनेछ ।
जर्मनीबाट फ्रेइबर्ग र स्टुटगार्ट तथा इटालीबाट एएस रोमा र बोलोग्नाले अबको चरण खेल्नेछ । यो प्रतियोगितामा भने धेरै हदसम्म ठूला देशको समान प्रतिनिधित्व रहेको मान्न सकिन्छ । डेनमार्कको मिडत्जल्यान्ड, बेल्जियमको जेन्क, हंगेरीको फेरेकाभोरस र ग्रिसको प्यानाथिनाइकोजले पनि अन्तिम १६ मा आफ्नो चुनौती पेस गर्नेछ । यसले देखाउने गर्छ, युरोपा लिगमा कम्तीमा विविधता छ । तर यसमा पनि वर्चस्व भनेको इङ्ल्यान्ड, स्पेन, इटाली, जर्मनी, फ्रान्स र पोर्चुगलकै देखिन्छ ।