काठमाडौं । इङ्लिस फुटबलमा अहिले एउटा बहस चलिरहेको छ । यसले समेटेको विषय हो, टोटनहमको रेलिगेसन डर । इङ्लिस प्रिमियर लिगमा उत्तरी लन्डनस्थित यो क्लबको इतिहास आफैंमा पुरानो मात्र छैन, समृद्ध पनि छ ।
यति भन्दाभन्दै पछिल्लो समय यसको प्रदर्शन खासै राम्रो छैन । आलोचक के भन्छन् भने टोटनहम औसत क्लब हो, जसको उद्देश्य ठिक्कको प्रदर्शन गर्ने र आफूलाई बचाइरहने मात्र हो । यसलाई केही उपाधि जित्नुपर्छ जस्तो पनि लाग्दैन ।
तर यो सिजनको कथा अलिकति बेग्लै छ । टोटनहम त्यही क्लब हो, जसले यसपल्टको युरोपेली च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को यात्रा तय गरिसकेको छ । यो यात्रा लिग चरणको समाप्तिमा अंकतालिकाको शीर्ष ८ मा रहेर सम्भव भएको हो । गत सिजन टोलीले युरोपेली क्लब फुटबलको दोस्रो ठूलो उपाधि जितेको थियो, त्यो भनेको युरोपा कप भयो । तर प्रिमियर लिगमा टोटनहमको प्रदर्शन भने असाध्यै खस्कँदो छ ।
भनिन्छ, लिग तालिकाले झुठो बोल्दैन । विश्वास नहुन सक्छ, यही टोटनहम प्रिमियर लिगमा अंकतालिकाको १६औं स्थानमा छ । टोलीको तल ४ टिममात्र छन् । टोटनहमको २९ अंक छ । उसको ठीक पछाडि नटिङ्घम फरेस्ट २७ अंकमा छ । त्यसपछि आउने भनेको रेलिगेसन क्षेत्र नै हो । त्यसमा वेस्ट हम २५ अंकसहित १८औं स्थानमा छ । उसको पछाडि रहेका बर्नली र उल्भस सम्भवतः यो सिजन दोस्रो डिभिजनमा झर्ने नै छन् ।
तर वेस्ट हमको बच्ने सम्भावना पूरापूर छ । टोटनहम र वेस्ट हमबीचको अन्तर भनेको ४ अंकमात्र हो, त्यो पनि ११ चरणको खेल बाँकी छँदा । टोटनहमको पछिल्लो खेल उत्तरी लन्डन डर्बी थियो । त्यसमा टोटनहम आर्सनलको हातबाट नराम्रोसँग पराजित भयो । त्यसपछि त हो, जताततै प्रश्न उठ्न थालेको, कतै टोटनहम रेलिगेसनमा पर्ने त होइन ? यस पछाडिका केही कारण छन् । र, यी ठोस पनि छन् ।
एक त टोटनहमले आफ्ना प्रशिक्षकलाई विश्वास नै गर्दैन । केही शृंखलाबद्ध नतिजा राम्रो भएन भने तिनै प्रशिक्षकलाई बर्खास्त गरिहाल्छ । फेरि अहिलेका लागि टोटनहमको आफ्नो घरेलु मैदानमा लय पनि खुबै खराब छ । घरमा जित्नै नसक्ने टिम बनेको छ । टिमभित्र पनि मनमुटाव छ भनिन्छ । त्यसैले त हो, टोटनहममाथि यो सिजन ठूलै आपत आउन सक्ने सम्भावना बनेको । धेरैले के मान्छन् भने टोटनहम जत्तिको क्लब रेलिगेसनमा पर्नुहुन्न । यो त बच्नैपर्ने क्लब हो ।
अझ ठ्याक्कै भन्दा टोटनहम रेलिगेसनका लागि कम्तीमा योग्य छैन । केही गरेर यस्तै भयो भने यो त भयानक सपनाजस्तै हुनेछ । केही फुटबल पण्डित के मान्छन् भने कम्तीमा टोटनहम रेलिगेसनमा पर्दैन । भलै, यसको प्रदर्शन राम्रो हुन सकेको छैन । तर यसका लागि लिगमा टोटनहमले लगभग आजको आजै जस्तो गरेर आफूअनुकूल नतिजा ल्याउनुपर्छ । नत्र सबैलाई थाहा छ, यो फुटबल भन्ने खेल निर्दयी पो छ त ।