उदयपुरमा महिला फुटबलको रौनक सकिएको आज ठ्याक्कै एक साता भएको छ । फुटबलको सर्वोच्च निकाय एन्फाले पहिलो पटक महिलाका लागि आफूले नै नकआउट प्रतियोगिता गरेको थियो । प्रतियोगिताका लागि नेपाली महिला फुटबलका १० टिमलाई आतिथ्यता दिने जिम्मेवारी पाएको थियो पुरानो गाईघाटस्थित थरूहट रंगशालाले ।
उदयपुर, जसले नेपाली महिला फुटबललाई दीपा राई, हीराकुमारी भुजेल, अमिशा कार्की जस्ता प्रतिभाहरू दिएको छ । यी खेलाडीले कुनै दिन यही ठाउँमा फुटबल खेलाडी बन्ने सपना बुनेका थिए । तिनै सपनाहरू फागुन पहिलो साता नयाँ पुस्तालाई प्रेरणा दिन घर फर्किए । फाइनलमा हीराको टिम एपिएफ एफसीले दीपाको त्रिभुवन आर्मीलाई २-१ ले हरायो र वर्ष २०२६ को पहिलो उपाधि उचाल्यो ।
उदयपुरलाई वर्तमान एन्फासँग जोड्ने हो भने यो महासचिव किरण राईको गृहजिल्ला पनि हो । उदयपुरमा राई आफ्ना जमानाका स्टार खेलाडी थिए । उदयपुरका वासिन्दाहरू राईमा राष्ट्रिय टोलीकै जर्सी लगाउन सक्ने खुबी रहेको मान्छन् । तर, काठमाडौं केन्द्रित फुटबलले राईजस्ता प्रतिभालाई राष्ट्रिय स्तरसम्म आउनै नदिएको गुनासो अहिले पनि उनीहरू गरिरहन्छन् ।

खेलाडीको हैसियतमा जिल्लास्तरमै खुम्चिए पनि प्रशासकको भूमिकामा उनी अहिले नेपाली फुटबल हाँकिरहेका छन् । र, राईकै नेतृत्वमा उदयपुरमा नेपाली महिला फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता आयोजना भयो । यसले केही हदसम्म उदाउँदै गरेको महिला फुटबललाई विकेन्द्रीकरण गर्न भूमिका खेलेको राईको दाबी थियो ।
मौसम परिवर्तनसँगै तातिरहेको माहोलबीच मौसमका बीच फाइनल हेर्न करिब ५ हजार हाराहारीमा स्थानीय फुटबलप्रेमी मैदान ओर्लिए । खेल सकिएपछि खेलाडीलाई समर्थकसँग फोटो खिच्न भ्याइनभ्याई थियो । जे होस् ! उदयपुरले महिला फुटबलको महोत्सवलाई मज्जाले ‘सेलिब्रेट’ गर्यो । उपस्थित फुटबलका सरोकारवालाहरूले पूर्वी फुटबलको मिठास अनुभव गर्न पाए ।
पछिल्लो डेढ वर्ष विभागीय टोली एपिएफले देशैभर फुटबलमा राज गर्यो । झापामा पछिल्लो मोफसल प्रतियोगितामा भने एपएफको विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबले बाजी मारेको थियो । त्यो पनि फाइनलमा एपिएफलाई नै हराएर । यसपालि पनि झापाकै कथा दोहोरिने अनुमान सबैको थियो । तर, प्रशिक्षक जीवेशकुमार पाण्डेको नेतृत्वमा रहेको एपिएफ यसपालि भने सचेत थियो ।

यसबीच महिला फुटबलको पुरानो समस्या ‘प्रतिस्पर्धात्मक नहुने’ मुद्दाले यसपालि अझ बढी चर्चा पायो । एपिएफले आफ्नो पहिलो खेलमा आरएस स्पोर्ट्स पोखरासँग प्रतिस्पर्धा गरेको थियो । खेलमा रश्मिकुमारी घिसिङ एक्लैले ११ गोल गरिन् । एपिएफले १९–० को फराकिलो जित रच्योे । यो जितले गत वर्ष राष्ट्रिय लिगमा सुदूरपश्चिम प्रदेशविरुद्धको खेल सम्झाइरहेको थियो । त्यतिबेला पनि एपिएफले १९ गोलको भिन्नतामा खेल जितेको थियो ।
एपिएफअघि पुलिसले एफसी रियालेविरुद्ध १०-० को जित आत्मसात गरिसकेको थियो । खेलमा स्ट्राइकर रेखा पौडेलले ६ गोल गरेकी थिइन् । अन्तर्राष्ट्रिय होस वा घरेलु फुटबल, रश्मि र रेखाबीच प्रतिस्पर्धा हुँदै आएको छ । रेखाको प्रदर्शनपछि रश्मिले कम्तीमा पनि ६ गोल गर्ने मनसाय बोकेकी थिइन् । आरएस पोखराको खेलपछि रश्मिले खुलेरै बोलिन्, ‘यति धेरै गोल गर्छु भन्ने सोचेको थिइनँ तर, ६ गोलभन्दा धेरै चाहिँ गर्छु भन्ने थियो ।’
अन्तर्राष्ट्रिय फुटबलको कुरा गर्ने हो भने रश्मिले पछिल्ला ६ खेलमा गोल गर्न सकेकी छैनन् । रश्मिले पछिल्लो पटक एएफसी एसियन कप छनोटको पहिलो खेलमा लाओसविरुद्ध स्कोरसिटमा नाम लेखाएकी थिइन् । यसबीच सिक्किममा घरेलु टोली भारतसँग भएको अनाधिकारिक खेलमा रश्मिले गोल गरिन् । रेखाको अवस्था पनि लगभग उस्तै छ ।

लिगमा रश्मिले सर्वाधिक ३५ गोल गरेकी थिइन् । लिगको ब्रेकमा साफ च्याम्पियनसिपको सातौं संस्करण भएको थियो । काठमाडौंमा रश्मिले ५ खेलमा मात्र एक गोल गरिन् । लिग सकिएपछि पुनः काठमाडौंमै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप भएको थियो । चार देशसम्मिलित प्रतियोगितामा नेपालले लिग र फाइनल गरी ४ खेल खेलेको थियो । रश्मि फेरि पनि गोलका लागि संघर्षरत रहिन् । रेखाले साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध ५ गोल गरेकी थिइन् । त्यसयता उनले पनि लाओसविरुद्ध एक गोल मात्र गरेकी छन् । मूलतः नेपाल गोलका लागि पूर्ण रूपमा कप्तान सावित्रा भण्डारीमाथि निर्भर रहँदै आएको छ ।
नेपाली फुटबल यिनै कुरामा रुमल्लिरहेको छ । प्रश्न यहाँ कसले धेरै गोल गर्यो कसले गरेन भन्ने होइन । प्रश्न यहाँ प्रतिस्पर्धात्मक फुटबलको हो । विभागीय प्रतिद्वन्द्वितामा महिला फुटबल अडिएको छ । विभागबाहेकका टोली तत्काल ‘कम्पिट’ गर्न सक्ने स्थितिमा छैनन् । युवा स्ट्राइकर पूर्णिमा राई र सेन्टरब्याक सिर्जना सिंहबाहेक अन्तर्राष्ट्रिय एक्सपोजर पाइसकेका सबै खेलाडी विभागमा छन् । खेलहरू प्रतिस्पर्धात्मक नभएका कारणले पनि धेरै गोल सम्भव भएका हुन् ।
अब मूल प्रश्न, फिफा विश्वकप २०३१ को गन्तव्यमा पुग्न महिला फुटबलमा ‘कम्पिटेटिभ’ खेल चाहिएला नि ? एन्फा यसबारे सजग छ कि छैन ?

‘हाम्रो लक्ष्य जसरी पनि विश्वकपमा स्थान बनाउनु हो । हामी अहिले डेभलपमेन्ट फेजमा छौं । यो फेजमा यस्तै हुन्छ । तर, हामी क्लबहरूलाई बलियो बनाउनुपर्छ भनेर लागिरहेका छौं । पहिले त महिला टिम नै थिएनन् । अहिले कम्तीमा पनि महिला टिम बनेको छ,’ महासचिव किरण राई भन्छन्, ‘क्लबहरूले विदेशी खेलाडीमा लगानी गर्ने वातावरण दिने कोसिस गरिरहेका छौं । राम्रा विदेशी खेलाडी ल्याउँदा खेलको स्तर स्वतः बढ्छ । एन्फाले जहिल्यै यस्ता कुराहरू प्रमोट गरिरहेको छ, गरिरहने छ ।’
पछिल्लो समय गोलकिपर अञ्जना रानामगर राष्ट्रिय टोलीको पहिलो रोजाइकी गोलकिपर बनेकी छन् । एक वर्ष हुन लाग्यो, अञ्जनाले एपिएफको गोलपोस्ट सम्हालेको । उदयपुरमा आफ्नो विधामा सर्वोत्कृष्ट नै भइन् । कुनै बेला उनी यु-१९ राष्ट्रिय टोलीकी कप्तान थिइन् । अञ्जनाको ब्याचपछि आयो प्रीति राई, दीपा शाही, मनमाया दमाईको ब्याच । त्यो ब्याचकी प्रमुख खेलाडीमध्ये एक थिइन् सावित्री किसन ।
गत वर्ष अञ्जिला तुम्बापो सुब्बाको अनुपस्थितिमा एपिएफका लागि सावित्री पहिलो रोजाइकी गोलकिपर भइन् । लिगमा राम्रो गरिन् । सर्वोत्कृष्ट गोलकिपरको पुरस्कार नै जितिन् । अहिले अञ्जना टिममा आएसँगै सावित्री दोस्रो रोजाइमा झरेकी छन् । पछिल्लो एक वर्ष अञ्जनाको आगमनसँगै सावित्रीले मैदानमा प्लेइङ मिनेट्सकै लागि संघर्ष गर्नुपरेको छ । आरएस पोखराविरुद्ध उनले दोस्रो हाफमा मौका पाइन् । अन्य दुई खेलमा उनले बेन्चबाट सहकर्मीलाई ‘चियरअप’ गरिन् ।

सावित्री जस्ता प्रतिभाशाली गोलकिपरलाई अहिले बढीभन्दा बढी ‘प्लेइङ मिनेट्स’ आवश्यक छ । जति ‘म्याच एक्सपोजर’, त्यति नै नेपाली महिला फुटबललाई फाइदा पुग्न सक्छ । उनीसँगै तेस्रो रोजाइकी गोलकिपर झरना डुमरकोटीमा पनि यो कुरा लागू हुन्छ । एपिएफमा मात्र नभएर अन्य टिमका खेलाडीको हकमा पनि त्यही हो । तीन साताअघि पोखरामा सम्पन्न साफ यु–१९ च्याम्पियनसिपमा झरना नेपालको पहिलो रोजाइ थिइन् । तर, उनीबाट अपेक्षित प्रदर्शन भएन । कारण थियो, म्याच एक्सपोजर कमी ।
प्रीति, दीपा, सावित्रीको ब्याचपछि माथिल्लो उमेर समूहमा नेपालको जर्सी लगाउने पालो थियो विर्सना चौधरी, सुशीला केसी, सेनु परियारहरू । यो ब्याचमा पहिलो रोजाइ पाइरहने प्रमुख गोलकिपरमध्ये एक हुन् लीला जोशी ।
उदयपुरमा त्रिभुवन आर्मी क्लबको जर्सीमा देखिएकी लीलाले तीनवटै खेल खेलिन् । जसले आगामी दिनमा उनलाई पक्कै फाइदा पुग्नेछ । लीला यसअघि एपिएफमा आवद्ध थिइन् । बेन्चमा सीमित थिइन् । भर्खरै मात्र उनी आर्मी गएकी हुन् ।

लीला र अञ्जनाबाहेक घरेलु फुटबलमा नाम चलेका गोलकिपरले उदयपुरमा पोस्ट सम्हाल्ने मौका नै पाएनन् । उमेर समूहमा नेपालको टोलीमा समावेश गोलकिपरहरू मैदानमा देखिएनन् । प्रतिभाशाली गोलकिपरले यसरी प्लेइङ मिनेट्स नपाउनु पक्कै चिन्ताजनक विषय हो । यद्यपि यो प्रतियोगितालाई चैत ४ गते सुरु हुने लिगको प्रि–सिजनका रूपमा हेरिएको थियो । नयाँ सिजनमा सावित्रीलगायत खेलाडीले हकलाग्दो मौका पाउने अपेक्षा गर्न सकिन्छ ।
‘नकआउट प्रतियोगिता भएर हामीले रिस्क नलिएका हौं । हामीले वैकल्पिक गोलकिपरसँग धेरै समय प्रशिक्षण पनि गर्न पाएनौं । लिगमा यी गोलकिपरले अवश्य मौका पाउँछन्,’ आरएस पोखरासँगको खेलपछि प्रशिक्षक पाण्डेले भने ।
यसो भनिरहँदा फुटबलप्रेमीले विभागीय टिमको व्यावसायिकता र लगानीलाई सम्मान पनि गर्नुपर्छ । महिला फुटबलर यही लगानीमा बाँचिरहेको छ । खेलाडीले विभागकै तलबमा आर्थिक जोहो गरिरहेका छन्, सुविधासम्पन्न प्रशिक्षण समय पाइरहेका छन् अनि अनुशासन सिकिरहेका छन् ।

‘विभागको प्रशिक्षण अलग्गै हुन्छ । हामी हरेक दिन १–२ घण्टा प्रशिक्षण गरिरहेका हुन्छौं । लगातारको प्रशिक्षणमा हामीले धेरै कुरा सिकिरहेका हुन्छौं । फिटनेस र इन्डुरेन्स पनि कायम राख्न सक्छौं,’ नेपाल पुलिस क्लबकी मिडफिल्डर सहारा लिम्बू भन्छिन्, ‘अन्य टोली र विभागको फुटबल माहोलमा निकै फरक छ ।’
उदयपुरमा यसपालि घरेलु फुटबलका केही चिनिएका अनुहारहरू देखिएनन् । लीलाकी यु-२० सहकर्मी माया मास्के, सुजाता तामाङ, सेमिहाङ्मा लिम्बूलगायत खेलाडीहरू उदयपुर आएनन् । फुटबल खेलका लागि एउटा टिममा २३ खेलाडी आवश्यक हुन्छ । सहभागी क्लबहरूले खेलाडी तयार पार्न नै संघर्ष गरे । यतिसम्म कि आसन्न महिला लिग खेल्न लागेको चर्च ब्वाइज १४ खेलाडीका साथ उदयपुर आइपुगेको थियो ।
चर्च ब्वाइज उमेर समूहका स्टार खेलाडीले भरिएको टोली थियो । तर, बेन्चमा पर्याप्त खेलाडी नहुनाले टोलीलाई घाटा पुग्यो । चर्च ब्वाइजसँगै एनआरटी र संकटाले उमेर समूहको बाक्लो अन्तर्राष्ट्रिय एक्सपोजर भएका खेलाडी मिश्रण गरेर टिम तयार पारेको थियो । संकटाले सेमिफाइनलसम्म यात्रा गर्यो । अन्य टोली क्वाटरफाइनलभन्दा माथि जान सकेनन् । संकटाले लिगकै लागि भनेर विदेशी खेलाडी अनुबन्ध गरेको छ । मोजाम्बिककी खेलाडीकै कारण संकटाले क्वाटरफाइनलमा चर्च ब्वाइजको चुनौती समाप्त पारेको थियो ।

आगामी २-३ वर्षमा यी टोलीले पक्कै पनि विभागीय टोलीलाई प्रतिस्पर्धा दिनेछन् । विदेशी खेलाडीको आगमनसँगै यही लिगमा पनि संकटाले बलियो चुनौती दिने अनुमान गर्न सकिन्छ । मुख्य प्रशिक्षक रवीन्द्र सिलाकार भन्छन्, ‘लिगमा हामी बलियो चुनौती दिन तयार छौं । केही दिनमै हामी बन्द प्रशिक्षणमा बस्दै छौं । थप केही विदेशी खेलाडी टोलीमा जोडिँदै छन् ।’
यो कुरा एनआरटीको हकमा पनि लागू हुन्छ । पछिल्लो समय एनआरटीले पुरुष फुटबलमा जसरी लगानी गरिरहेको छ, महिलामा पनि उत्तिकै आक्रमक देखिएको छ । एनआरटी गम्भीर देखिएको छ ।
‘ढिलोचाँडो एनआरटी उपाधिका लागि कम्पिट गर्नेछ । त्यही अनुसारको टिम बिल्ड गरिरहेका छौं । बलियो योजनाका साथ मैदानमा प्रस्तुत हुनेछौं,’ एनआरटीका मुख्य प्रशिक्षक भगवती रानाले भनिन् ।

एसियन कप छनोटमा उज्वेकिस्तानविरुद्ध भोगेको त्यो दुर्भाग्यजनक हार नेपाली समर्थकले अझै पनि बिर्सन सकेका छैनन् । पेनाल्टी शुटआउटमा भोगेको त्यही हारका कारण नेपाल पहिलो पटक एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता महिला एसिया कप खेल्ने अवसरबाट वञ्चित भएको थियो । त्यतिबेला पेनाल्टीमा नचुकेको भए टिम मार्च १ बाट सुरु हुने एसियन कपको तयारीमा व्यस्त हुन्थ्यो ।
तर, २०३१ फिफा विश्वकपमा पुग्ने नेपाली महिला फुटबलको भोक सुरु भइसकेको छ । हरेक यात्रा कतैबाट सुरु हुन्छ । उदयपुरको १० दिने फुटबल यात्रा त्यही यात्राको पहिलो पाइला बन्न सक्छ ।