काठमाडौं । घरेलु टोली नेपालले आइसिसी महिला ट्वान्टी –२० विश्वकप ग्लोबल छनोटमा बलियो प्रतिद्वन्दी थाइल्यान्ड टस हारेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस हारेकी हुन् । अब, नेपालले सुरुमा ब्याटिङ गर्नेछ । यता, थाइल्यान्ड भने बलिङ गर्नेछ ।
नेपालले यत्तिको ठूलो प्रतियोगिता पहिलो पटक आयोजना गर्दैछ । यसअघि नेपालले पुरुषतर्फ टी–२० विश्वकपको एसिया छनोट आयोजना गरेको थियो । नेपालको महिला टिमले यो प्रतियोगिता समेत पहिलो पटक खेल्दैछ ।
प्रतियोगितामा नेपालसहित १० टिम सहभागी भएका छन् । यसबाट छनोट भएका चार टिम पाँच महिनापछि इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी २० महिला विश्वकप खेल्नेछन् । विश्वकपमा कुल १२ टिम हुनेछन् ।
समूह ‘बी’मा नेपाल र थाइल्यान्डसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, र जिम्बावे छन् । समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी (पिएनजी) र अमेरिका छन् ।

हालसम्म नेपाल र थाइल्यान्डबीच कूल सात पटक प्रतिस्पर्धा भएको छ । नेपाल सातै भेटमा थाइल्यान्डसँग पराजित भएको छ ।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाल प्रतियोगिताअघि भएको वार्मअप खेलमा स्कटल्यान्ड र अमेरिकासँग नै पराजित भएको थियो ।
नेपाली टिमः
इन्दु बर्मा (कप्तान) पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय ।
याे पनि पढ्नुहाेस्
