काठमाडौं । जोए रुटले अस्ट्रेलियामा करियरको पहिलो सतक प्रहार गरेपछि ब्रिसबेनमा बिहीबार सुरु भएको दोस्रो टेस्टमा पहिलो दिन इङ्ल्यान्डले ९ विकेट गुमाएर ३२५ रन बनाएको छ ।
ब्रिसबेनको दिवा–रात्री टेस्टमा १३५ रन प्रहार गर्दै रुटले अस्ट्रेलियामा सतकको खाता खोलेका थिए । अस्ट्रेलियामा पहिलो भए पनि रुटको करियरमा यो ४०औं टेस्ट सतक थियो ।
२०२ बल सामना गरेका रुटले अविजित रहेरै चिर प्रतिद्धन्द्धीको मैदानमा १३५ रन बनाउँदा १५ चौका र १ छक्का प्रहार गरेका थिए ।
रुटले प्रभावकारी ब्याटिङ गरे पनि इङल्यान्डको इनिङ भने फेरि एकपटक निक्कै उतारचढावपूर्ण प्रदर्शनको सिकार भएको थियो । पिंक बलका माहिर मिचेल स्टार्कले ७१ रन खर्चेर ६ विकेट लिँदा इङ्ल्यान्डका चार जना ब्याटर खाता पनि नखोलीकन पवेलियन फर्किनुपरेको थियो ।
ओपनर जाक क्रलीले दमदार प्रदर्शनका साथ ९३ बलमा ११ चौकासहित ७६ रनको इनिङ खेले पनि अन्य ब्याटरबाट उनले अपेक्षित साथ पाएनन् । उनका ओपनिङ पार्टनर बेन डकेट पहिलो बलमै स्टार्कको सिकार भए भने लगत्तै ओली पोप पनि स्टार्कबाट खाता खोल्न नपाउँदै आउट भए ।
त्यसपछि आएका रुटले इनिङ सम्हालेपछि इङ्ल्यान्ड नाटकीय पतनबाट जोगिएको थियो । इङ्ल्यान्डको इनिङमा ह्यारी ब्रुकले ३१ तथा कप्तान बेन स्टोक्स र विल ज्याक्सले समान १९ रनको योगदान गरे ।
पहिलो दिनको खेल सकिँदा रुटसँगै ३२ रन बनाएका जोफ्रा आर्चर क्रिजमा छन् । आर्चरले २६ बल मात्र सामना गर्दा १ चौका र २ छक्का प्रहार गरिसकेका छन् ।
यसअघि पर्थमा नोभेम्बर २१ बाट सुरु भएको पहिलो टेस्टमा अस्ट्रेलियाले दुई दिनमै ८ विकेटको जित हासिल गरेको थियो ।
