काठमाडौं ।साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि दक्षिण अफ्रिकन तिव्रगतिका बलर वायने पार्नेललाई अनुबन्ध गरेको छ ।
ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले अनुबन्ध गरेका उनी दोस्रो विदेशी खेलाडी हुन् । टोलीले यसअघि नै श्रीलंकान मुलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाई निरन्तरता दिने निर्णय गरिसकेको छ ।
३६ वर्षे पार्नेलले ५६ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा १७३ विकेट लिएका छन् ।
पार्नेलले इन्डियन प्रिमियर लिगमा पुणे वारियर्स, दिल्ली डेयरडेभिल्स र रोयल च्यालेन्जर्स बेङ्लोरबाट खेलिसकेका छन् । यसैगरी उनीसँग वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग, दक्षिण अफ्रिकाको एसए २०, इङ्ल्यान्डको द हन्ड्रेडजस्ता फ्रेन्चाइज लिग खेलेको अनुभव छ ।
पर्नेलले एनिएलका लायि उत्साहित रहेको बताएका छन् । ‘म एनपीएल खेल्नका निकै उत्साहित छु, मैले नेपाली क्रिकेट समर्थकहरुको जोशलाई देखेको छु । जनकपुर बोल्ट्सको उपाधि रक्षा अभियानमा समर्थकहरुको अगाडि खेल्नलाई म आत्तुर छु । जनकपुरको हिस्सा बन्न पाउदा म निकै उत्साहित छु,’ पार्नेलले भने ।
जनकपुरका प्रवन्ध निर्देशक निरोज खतिवडाले पार्नेललाई अनुबन्ध गर्न पाउदा निकै उत्साहित रहेको जनाए । ‘पार्नेलले यु-१९ देखि राष्ट्रिय टोलीबाट खेल्दै लामो अनुभवसहित विश्व क्रिकेटमा आफ्नो पहिचान बनाएका छन् । उनको अनुभवले टोलीको उपाधि रक्षा अभियानलाई बलियो बनाउने छ । पार्नेलको अगामनले जनकपुरलाई मात्रै नभएर एपिएललाई नै उत्साहित बनाएको छ ।’
शिवनारायण चन्द्रपालको नेतृत्वमा रहेको जनकपुर बोल्ट्सले अहिले आफ्नो प्रशिक्षण क्याम्प भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा सञ्चालन गरिरहेको छ ।
मार्की आसिफ शेखसहित अनिलकुमार साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह र तुलबहादुर थापामगरलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको जनककपुले मिनी अक्सनबाट मयन यादव, आदित्य महता र विकास अग्री र सचिन भट्टलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस सिजन पनि जनकपुरसँगै साविक उपाविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
