काठमाडौं । वेस्ट इन्डिजले ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली बंगलादेशविरुद्ध १६ रनको जित दर्ता गरेको छ ।
जितसँगै वेस्ट इन्डिजले तीन खेलको शृंखलामा १-० ले अग्रता लिएको छ । दोस्रो खेल बुधबार हुनेछ ।
सोमबार चट्टोग्रामस्थित वीर श्रेष्ठ फ्लाइट लेफ्टिनेन्ट मतिउर रहमान रंगशालामा वेस्ट इन्डिजले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको बंगलादेश १९.४ ओभरमा १४९ रनमै समेटियो ।
बंगलादेशका लागि तान्जिम हसन साकिबले ३३, तोविड हृदयले २८, नसुम अहमदले २०, तान्जिद हसनले १५, मुस्ताफिजुर रहमानले अविजित ११ र तस्किन अहमदले १० रन बनाए ।
वेस्ट इन्डिजका लागि जेसन सिल्स र जेसन होल्डरले समान तीन, अकिल होसेनले दुई तथा खरी पियरे र रोमारियो शेफर्डले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १६५ रनको योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान साई होपले अविजित ४६, रोभमन पावेलले अविजित ४४, एलिक एथानाजेले ३४ र ब्रेन्डन किंग्सले ३३ रन बनाए ।
चौथो विकेटका लागि होप र पावेलबीच अविजित ८३ तथा पहिलो विकेटका लागि एथानाजे र किंग्सबीचि ५९ रनको साझेदारी भएको थियो ।
बंगलादेशका लागि तस्किन अहमदले दुई तथा रिशाद होसेनले एक विकेट लिए ।
