काठमाडौं । नामिबियाका कप्तान जेर्हाड इरस्मसले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन पनि काठमान्डौं गोर्खाजबाटै खेल्ने भएका छन् ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको टोलीले दोस्रो विदेशी खेलाडीको रूपमा इरस्मसलाई भित्र्याएको हो । यसअघि काठमाडौंले दक्षिण अफ्रिकन विकेटकिपर ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको थियो ।
इरस्मसले सन् २०१९ देखि लगातार नामिबियाको नेतृत्व गर्दै आएका आएका छन् ।
एनपिएलको पहिलो सिजनमा काठमान्डौंको उपकप्तानको भूमिका निभएका इरस्मसले सात खेलमा १३७ माथिको स्ट्राइक रेटमा ११० रन बनाउनुका साथै ११.९० को औषतमा ११ विकेट लिएका थिए ।
३० वर्षे इरस्मसले नामिबियाबाट ६३ खेलमा ७७ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेलमा मा एक शतक र १३ अर्धशतकसहित १ हजार ८३३ रन बनाएका छन् । उनले पछिल्लो तीन सिजन गुजरात जायन्ट्सबाट युएईको आइएल टी-२० पनि खेल्दै आएका छन् ।
काठमाडौंका प्रशिक्षक वसन्त शाहीले इरस्मसमबाट पहिलो सिजनको भन्दा उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको बताए । ‘गत सिजन इरस्मसले उत्कृष्ट खेलेका थिए, यो वर्ष उनले अझ राम्रो खेल्छन् भन्ने विश्वास छ । उ राम्रो लिडर पनि हो, त्यसले पनि हाम्रो टिमलाई फाइदा पुगेको थियो । इरसमस एसोसिएट क्रिकेटको उत्कृष्ट खेलाडी हुन् । इरस्मस जस्ता खेलाडीलाई राखेर टिम बनाउदा प्रभावकारी हुने अपेक्षा राखेको छु,’ प्रशिक्षक शाहीले भने ।
काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।
यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।
काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी काठमाडौं कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
