काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलकी रक्षक पूजा राना बंगलादेशी क्लब नासरिन स्पोर्टस एकेडेमीमा अनुबन्ध गरेको छ ।
नासरिनले बुधबार सामाजिक सञ्जालमार्फत दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपका लागि पहिलो विदेशी खेलाडीका रूपमा पूजालाई भित्र्याएको जानकारी दियो ।
पूजाको यो दोस्रो विदेशी क्लब हो । यसअघि उनले भुटानको ट्रन्सपोर्ट युनाइटेडबाट खेलेकी थिइन् ।
गत सिजन बंगलादेशको राष्ट्रि महिला लिग च्याम्पियन नासरिनमा राष्ट्रिय टोलीका सविना खातुन, शिउली अजिम, रितु पोर्ना चक्मा, शमसुन्नहर सिनियर, सुमाया मात्सुशिमा, मनसुर प्रविन, मोनिका चक्मा, अन्जिदा अख्तर, मारिया मान्डा, कृष्ण रानी सरकार, शमसुन्नहर जुनियर आबद्ध छन् ।
पहिलो पटक आयोजना हुन लागेको साफ महिला च्याम्प्पियनसिप नेपालमा आगमी डिसेम्बर ५ देखि २० सम्म हुँदैछ ।
प्रतियोगितामा नेपालको एपिएफ, भारतको इस्ट बंगाल, भुटानको ट्रान्सपोर्ट युनाइटेड, पाकिस्तानको कराँची सिटी र बंगलादेशको नास्रिन स्पोर्टस एकेडेमीको सहभागिता रहनेछ ।
श्रीलंका र माल्दिभ्सको सहभागिता भने रहने छैन ।
पूजाले विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी छन् ।
