काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपिएल) को दोस्रो सिजनका लागि काठमाडौं गोर्खाजले दक्षिण अफ्रिकन विकेटकिपर/ ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ ।
उनी काठमाडौं भित्रिने पहिलो विदेशी खेलाडी हुन् । जोहानेसबर्गमा जन्मिएका भास्कोनेसेलोसले दक्षिण अफ्रिकाको यु-१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।
उनले दक्षिण अफ्रिकाको घरेलु क्रिकटमा बोल्यान्डबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यू’ गरेका थिए ।
पछिल्लो समय नर्थम्टनसायरबाट इङ्ल्यान्डको काउन्टी क्रिकेट खेल्दै आएका भास्कोनेसेलोसले भाइटालिटी ब्लास्टको पनि अनुभव लिइसकेका छन् ।
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमाडौंले मार्की करण केसीसहित भीम सार्की, शाहव आलम रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई दोस्रो सिजनमा पनि निरन्तरता दिएको छ ।
यसैगरी मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई भित्र्याएको थियो ।
काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा एनपिएलको दोस्रो सिजन खेल्ने छ । यस्तै काठमाडौंको प्रशिक्षकमा बसन्त शाही छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी काठमाडौं कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
