काठमाडौ । कर्णाली याक्स स्पोर्टस प्रालिले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि स्ट्रेन्थ पार्टनरको रूपमा प्लम्बर पाइप्ससँग लागि सह-प्रायोजन सम्झौता गरेको छ ।
आइतबार कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र प्लम्बर पाइप्सका म्यानेजिङ डाइरेक्टर नितिन जालानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजले यो उत्पादन २०७१ सालदेखि नेपालमा ल्याएको हो ।
प्लम्बर पाइप्सका म्यानेजिङ डाइरेक्टर जालानले कर्णाली याक्ससँग जोडिनु गौरवको विषय रहेको बताए । ‘ नेपालको अग्रणी प्लम्बिङ ब्रान्ड प्लम्बर पाइप्सले कर्णाली याक्ससँग प्रायोजकको रूपमा हात मिलाएको छ,’ जालानले भने, ‘ कर्णाली याक्सको माध्यमबाट एनपिएलसँग जोडिन पाउनु गर्वको कुरा हो ।’
कर्णालीले दोस्रो संस्करणमा पनि ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । यस्तै टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
गत संस्करण दोस्रो क्वालिफायरसम्म पुगेको कर्णालीले मार्की सोमपाल कामीसहित गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, दीपेन्द्र रावत र युनिशविक्रम ठकुरीलाई दोस्रो संस्करणका लागि पनि निरन्तरता दिएको छ । यसैगरी टोलीले मिनी अक्सनबाट पवर सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा गतवर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जनकपुर बोल्टस पहिलो सिजनको च्याम्पियन हो भने सुदूरपश्चिम रोयल्स साविक उपविजेता हो । यसैगरी कर्णालीसँगै पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज,काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले साविक विजेता र उपविजेतासँगै दोस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदैछ ।
