काठमाडौं । नेपाल र ओमान छनोट भएसँगै आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकप खेल्ने १९ टिमको टुंगो लागेको छ ।
ओमानमा भइरहेको आइसी टी-२० विश्वकप एसिया एन्ड एस्ट एसिया प्यासिफक छनोटबाट शीर्ष तीन टोली विश्वकपमा पुग्ने प्रावधान छ । जसमा दुई नेपाल र ओमानले पक्का गरिसकेका छन् भने अब एक टोलीको टुंगो लाग्न बाँकी छ ।
अब युएई र जापानमध्ये एकले विश्वकपका स्थान बनाउने छन् । आगामी फेब्रुअरी-मार्चमा हुने १०औं संस्करणको टी-२० विश्वकपमा २० टोलीको सहभागिता रहनेछ ।
कुन टोली विश्वकपमा कसरी पुगे
भारत र श्रीलंका आयोजकका रूपमा सिधै विश्वकपमा पुग्दा अस्ट्रेलिया, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बंगलादेश, अफगानिस्तान र अमेरिकाले अघिल्लो संस्करणमा गरेको प्रदर्शनका आधारमा सिधै विश्वकप खेल्ने मौका पाएका छन् ।
यसैगरी न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड वरियाताका आधारमा विश्वकपका लागि छानिएका छन् । यता क्यानाडाले अमेरिका, नेदरल्यान्ड्स र इटालीले युरोपियन तथा जिम्बावे र नामिबियाले अफ्रिकन छनोट पार गरेर विश्वकपको यात्रा तय गरे ।