काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लगातार दोस्रो पटक ट्वान्टी-२० विश्वकप खेल्ने सपना पूरा भएको र यसलाई शब्दमा बयान गर्न नसक्ने बताएका छन् ।
‘हामीले झन्डै एक वर्षदेखि यो सपना देखेका थियौं, आज आएर पूरा भएको छ, म शब्दमा बयान गर्न सक्दिनँ’ राेहितले ओमानसँगको खेलपछि भने, ‘यो क्षणले टिमलाई नै खुसी बनाएको छ ।’
उनले अब ट्रफी जित्ने लक्ष्य भएको बताए । ‘यो सफलतमा खेलाडीदेखि अफिसियल सबैको महत्वपूर्ण भूमिका छ, सबैजनालाई धन्यवाद,’ उनले भने,‘ अब हाम्रो लक्ष्य भनेको च्याम्पियन बन्ने हो ।
नेपालले सुपर सिक्सको तेस्रो खेलमा ओमानविरुद्ध ३८ रनको जित निकालेको थियो । यो जितपछि नेपाल चार खेलमा आठ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।
सुपर सिक्समा यसअघि युएई र कतारलाई हराएको नेपालले छनोटको आफ्नो अन्तिम खेलमा शुक्रबार सामोआको सामना गर्दैछ ।
नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक आइसिसी ट्वान्टी-२० विश्वकपमा पुगेको हो । यसअघि टोलीले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।