काठमाडौ । मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित निकालेको छ । यता, तिलक बर्मा र कप्तान हार्दिक पाण्ड्याले आक्रामक ब्याटिङ गरेपनि मुम्बईले चौथो हार टार्न सकेन ।
सोमबार राति टस हारेर पहिला ब्याटिङ गरेको बैंगलुरुले पाँच विकेट गुमाउँदै दुई सय २२ रनको विशाल लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा मुम्बईले ९ विकेट गुमाउँदै मात्र दुई सय ९ रन बनायो ।
जितपछि बैगलुरुले चार खेलबाट ६ अंकसहित तेस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको मुम्बई आठौं स्थानमा छ ।
मुम्बईका तिलकले २९ बलमा समान चार चौका र छक्कासहित सर्वाधिक ५६ रन बनाए । हार्दिकले १५ बलमा तीन चौका र चार छक्कासहित ४२ रन बनाएका हुन् । दुईले पाँचौं विकेटका लागि ३४ बलमा ८९ रनको साझेदारी गरेका थिए।
आरसिबीका क्रुनाल पाण्ड्याले सर्वाधिक चार विकेट लिए । यश दयाल र जोश हजलवुडको नाममा समान दुई विकेट रह्यो ।
यसअघि आरसिबीका ओपनर विराट कोहलीले ४२ बलमा आठ चौका र दुई छक्कासहित सर्वाधिक ६७ रन बनाए । कप्तान रजत पाटिदारले ३२ बलमा पाँच चौका र चार छक्कासहित ६४ रनको योगदान गरेपछि आरसिबी ठूलो स्कोर बनाउन सफल भयो ।
कोहली र पटिदारले दोस्रो विकेटको लागि सर्वाधिक ९१ रनको साझेदारी गरेका हुन् ।