काठमाडौं । हङकङमा बुधबारदेखि सुरु हुने ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलमा सहभागिता जनाउने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ ।
सोमबार नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंह, प्रवक्ता छुम्बी लामालगायतले टोलीको बिदाइ गरे ।
नेपालका नवनियुक्त प्रशिक्षक स्टुवार्ट ल हालसम्म आइनपुगेका कारण यो शृंखलामा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले प्रशिक्षण सम्हाल्ने भएका छन् । उनले पछिल्लो समय नेपाल ‘ए’ टिम सम्हालेका थिए ।
अप्रिल ९ देखि १३ सम्म हुने शृंखलामा नेपाल, हङकङ, कतार र कुवेतले सहभागिता जनाउने छन् ।
नेपालले अप्रिल ९ मा कतारसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले दोस्रो खेल अप्रिल १० मा कुवेत र तेस्रो तथा अन्तिम खेल अप्रिल १२ मा हङकङसँग खेल्नेछ ।
शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
रोहितकुमार पौडेलको कप्तानीमा घोषणा भएको टोलीमा लोकेश बम, साहब आलम, बसिर अहमदले पुनरागमन गरेका छन् । यस्तै नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, लोकेश बम, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुल्शनकुमार झा, कुशल मल्ल, शाहब आलम