काठमाडौं । लिग लिडर प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आफ्नो विजयी यात्रालाई पाँचौं खेलसम्म पनि कायम राखेको छ ।
प्लानिङ ब्वाइजले मंगलबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सरस्वती युथ क्लबविरुद्ध ३-० को सहज जित दर्ता गर्यो ।
जितसँगै प्लानिङ ब्वाइजले पाँच खेलमा १५ अंक जोडेको छ । लगातार तेस्रो पराजय बेहोरेको सरस्वती समान खेलबाट ६ अंकका साथ आठौं स्थानमा छ ।
प्लानिङ ब्वाइजलाई जित दिलाउन सुजन डंगोल, सरोज कार्की र फागुराम थारुले गोल गरे ।
खेलको दोस्रो मिनेटमै सुजनको गोलमार्फत प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । ७३औं मिनेटमा सरोजले टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा फागुरामले गोल गर्दै प्लानिङ ब्वाइजलाई ३-० को सहज जित दिलाए ।
दिनको दोस्रो खेलमा वीरगंज युनाइटेड र नयाँबस्ती युथ क्लब प्रतिस्पर्धा गर्नेछन् । यो खेल दिउँसा ३ः४५ मा सुरु हुनेछ ।