काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को आफ्नो चौथो खेलमा काठमाडौं रेजर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा गर्दैछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ६ बजे सुरु हुने खेलमा दुबै टोलीलाई जित्नै पर्ने दबाब छ । चौथो खेलमा बराबरी या हारले दुबै टोलीको प्लेअफ सम्भावना लगभग सकिने छ । गणतीय सम्भावना मात्रै बाँकी रहनेछ ।
चार खेल खेल्दा लुम्बिनी दुई हार र एक बराबरीसहित एक अंक जोडेर पुछारमा छ । ३ खेलबाट दुई बराबरीसहित दुई अंक जोडेको काठमाडौं छैटौं स्थानमा छ । दुबै टोली पहिलो जित निकाल्ने दाउमा छन् ।
पहिलो संस्करणको च्याम्पियन काठमाडौं तेस्रो पटक प्रतियोगिता हुँदा पहिलो जितको खोजीमा छ । रोहन कार्की मार्की रहेको टोली पहिलो खेलमा ललितपुर सिटी एफसीसँग २–२ र दोस्रो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा भने टोली पोखरा थन्डर्ससँग अप्रत्यासित रुपमा २–० ले पराजित भएको हो ।
यता, बुटवल लुम्बिनीको समेत हालत उस्तै छ । च्याम्पियन हुने लक्ष्यसहित प्रतियोगितामा होमिएको बुटवलले स्वभाविक लय भेट्टाउन सकेको छैन ।
एरिक विष्टको कप्तानीमा रहेको बुटवलले पहिलो खेलमा झापासँग गोलरहित बराबरी खेलेको थियो । तर, त्यसपछि धनगढीसँग ४–१ र चितवनसँग १–० ले पराजित हुन पुग्यो ।