काठमाडौं । युरोपियन च्याम्पियनस लिगमा मंगलबार राति (आज) आर्सनल र रियाल मड्रिड प्रतिस्पर्धा गर्दैछन् । क्वार्टरफानलको पहिलो लेग लन्डनस्थित आर्सनलको घरेलु मैदान हुनेछ ।
ला लिगामा महारथी बार्सिलोनासँग उपाधिका लागि संघर्ष गरिरहेको रियाल च्याम्पियन्स लिगमा भने लगातार उत्कृष्ट प्रदर्शनपछि आत्मविश्वास बढाएको छ । टोलीले अन्तिम १६ मा महारथी एट्लेटिको मड्रिडलाई हराएको थियो । त्यसअघि इङ्लिस क्लब म्यानचेष्टर सिटीलाई प्लेअफमा पराजित गर्दै रियाल अगाडी बढेको हो ।
१६औं पटक च्याम्पियन्स लिग उपाधि जित्ने दाउमा रहेको रियालमा प्रशिक्षक कार्लाेस एन्सोलोटी लन्डनमा खेल जित्न तयार रहेको बताउँछन् । ‘हामी विगतलाई बिर्सेर हरेक दिन खेल जित्न प्रतिस्पर्धा गर्छाै । लन्डनमा हाम्रो लक्ष्य पनि सोही हुनेछ ।’

केलिएन एम्बाप्पे टिममा जोडिएपछि रियालको मनोबल पनि झनै बढेको छ । टोलीको अग्रपंक्तीमा भिनिसियस जुनियर, लुका मोड्रिक र रोड्रिगो जस्ता प्रभावशाली खेलाडी छन् । त्यसैले लन्डनमा टोलीको अट्याक निकै दमदार हुने विश्वास गरिएको छ ।
हालसम्म रियालले १५ पटक च्याम्पियन्स लिगको उपाधि जित्दा एसि मिलानले सात तथा लिभरपुल र बायर्न म्युनिखले ६ तथा बार्सिलोनाले पाँच पटक जितेको छ । आर्सनलले भने हालसम्म उपाधि जितेको छैन ।
आर्सनल भने सन् २००९ देखि सेमिफाइनलमा पनि पुग्न सकेको छैन । यो खराब इतिहास मेटाउने लक्ष्यमा प्रशिक्षक माइकल अर्टेटा छन् । सन् २००९ देखि रियालले ६ पटक उपाधि उचालेको छ ।
‘विश्व फुटबलमा रियाल निकै बलियो छ । उसका इतिहास राम्रा छन् । तर, हामी स्वभाविक खेले खेल्दै नतिजा आफ्नो पक्षमा पार्नेछौं । हाम्रो आफ्नै इतिहास बनाउँछौं,’ अर्टेटाले भने ।
आर्सनललाई चोटले पनि सताएको छ । विंगर बुकायो साका खेल्ने या नखेल्ने टुंगो छैन । उनी अघिल्लो खेलमा घाइते भएका थिए । टोलीसँग मार्टिन ओडेगार्ड, गाब्रियल मार्टिनेज जस्ता खेलाडी भने साथमा छन् ।
दोस्रो लेग अप्रिल १७ मा रियालको घरमा शान्तियागो बर्नाबेउमा हुने तालिका छ ।
राति नेपाली समयअनुसार पौने १ बजे सुरु हुने खेलमा बायर्न म्युनिख र इन्टर मिलानबीच पनि प्रतिस्पर्धा हुनेछ ।