काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार साबिक विजेता मछिन्द्र र विभायीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन् ।
खेल दशरथ रंगशालामासाँझ ६ बजे सुरु हुनेछ । विशाल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्र उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यमा छ । यता आर्मी पहिलो प्रयासमै च्याम्पियन बन्ने सोचमा छ ।
मछिन्द्रले आयोजक केपी ओली एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
मछिन्द्रका कप्तान विशाल श्रेष्ठ आर्मीसँग खेल्न कठिन हुने बताउँछन् । ‘आर्मीसँग खेल्न निकै गाह्रो हुन्छ । नयाँ खेलाडी भए पनि उनीहरूले राम्रो टोली तयार पारेका छन् । तर हामी जित्नैका लागि मैदान उत्रिने छौं । खेल रोमाञ्चक हुने अपेक्षा छ,’ विशालले भने ।
यता आर्मीका कप्तान जिलेस्पीजंग कार्की उत्कृष्ट लयलाई कायम राख्दै उपाधि जित्ने लक्ष्य रहेको बताउँछन् । ‘प्रतियोगितामा राम्रो प्रदर्शन भइरहेको । टिम वर्क राम्रो देखिएको छ । फाइनलमा पनि त्यसलाई कायम राख्दै उपाधि जित्ने लक्ष्यमा छौं। मछिन्द्र जस्तो बलियो टोलीको सामना गर्नका लागि हामी मानसिक रूपमा तयार छौं । हामी त्यही रणनिति अनुसार खेल्ने छौं,’ जिलेस्पीले भने ।
फाइनलमा विश्वकप विजेता इटालियन गोलकिपर जियानलुइजी बुफोन प्रमुख अतिथीका रूपमा रहने छन् । फाइनलअघि कुमा सागर, पुर्ण राईलगायतको प्रस्तुती रहनेछ ।
राष्ट्रिय युवा संघद्धारा आयोजित प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीलाई समान ५० हजार र ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ ट्रफी, प्रमाण पत्र, मेडलसहित यमाहको मोटरसाइकल प्रदान गरिने छ ।