काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बुधबार गण्डकी प्रदेशविरुद्ध आठ विकेटको सहज जित दर्ता गर्यो ।
जितसँगै एपिएफले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित गण्डकी अंकविहिन छ ।
पहिलो खेलमा एपिएफले कर्णाी प्रदेशलाई १११ रनले पराजित गर्दा गण्डकीले सुदूरपश्चिम प्रदेशसँग सात विकेटको हार बेहोरेको थियो ।
गण्डकीले प्रस्तुत गरेको ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । एपिएफका लागि कप्तान इन्दु बर्माले अविजित २६, ममता चौधरीले १८ र रोमा थापाले अविजित १४ रन बनाए ।
गण्डकीका लागि आकृति तिवारी र यशोदा भुजेलले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित १५ ओभरमा पाँच विकेट गुमाउँदै ७० रनको योगफल तयार पारेको थियो । बाक्लो हुस्सुका कारण टस ढिला भएपछि खेललाई १५ ओभरमा झारिएको थियो ।
गण्डकीका लागि कप्तान सिर्जना पौडेलले २५, रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन बनाए ।
एपिएफका लागि विन्दु बुढाले दुई र करुणा भण्डारीले एक विकेट लिए ।