काठमाडौं । इङ्ल्यान्डविरुद्धको महिला एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरेलु टोली अस्ट्रेलियाले एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।
मलेबर्नस्थित जंक्शन ओभलमा मंगलबार सम्पन्न दोस्रो एकदिवसीयमा अस्ट्रेलिया २१ रनले विजयी भयो ।
जितसँगै अस्ट्रेलियाले तीन खेलको एसेज शृंखलामा २-० को अग्रता लिएको छ । पहिलो खेलमा अस्ट्रेलिया चार विकेटले विजयी भएको थियो ।
अस्ट्रेलियाले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड ४८.१ ओभरमा १५९ रनमै समेटियो । इङ्ल्यान्डका लागि एमी जोनसले अविजित ४७, नटालिया स्क्रिभर ब्रन्टले ३५, कप्तान हेदर नाइटले १८, माया बोचियर १७ र एलिस क्याप्सीले १४ रन बनाए ।
अस्ट्रेलियाका लागि एलना किंगले चार, किम गार्थले तीन तथा मेगन स्कट र एश्लेघ गार्डनरले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ४४.३ ओभरमा सबै विकेट गुमाउँदै १८० रनको योगफल तयार पारेको थियो । अस्ट्रेलियाका लागि एलिस पेरीले ७४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६० रनको योगदान गरिन् ।
यसैगरी फोबी लिचफिल्ड र कप्तान एलिस हेलीले समान २९, एलान किंगले १३, बेथ मोनीले १२ तथा एनाबेल सदरल्यान्डले ११ रन बनाए ।
इङ्ल्यान्डका लागि सोफी एक्लेस्टोनले चार, एलिस क्याप्सीले तीन, लोरेन बेलले दुई र लोरेन फिलरले एक विकेट लिए ।
शृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।