काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा सानदार सुरुआत गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार एपिएफले कर्णाली प्रदेशविरुद्ध १११ रनको फराकिलो जित दर्ता गर्यो ।
एएिफले प्रस्तुत गरेको १८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभर नै ब्याटिङ गरे पनि सात विकेट गुमाउँदै ७१ रन मात्रै बनाउन सक्यो ।
कर्णालीका लागि दिक्षा पुरीले १७ तथा गौरी बोहरा र रामा बुढाथोकीले समान १० रन बनाए ।
एपिएफका लागि करुणा भण्डारीले तीन तथा रेखा रावल, सुमन विष्ट र विनु बुढाले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै १८२ रनको योगफल तयार पारेको थियो । एपिएफका लागि ममता चौधरीले ६६ बलमा १० चौकाको मद्नतले अविजित ७८ रनको योगदान गरिन् ।
यसैगरी कप्तान इन्दु बर्माले ३४ बलमा सात चौकाको मद्दतले अविजित ५२ र राजमति ऐरीले २२ रन बनाए ।
ममताले दोस्रो विकेटका लागि इन्दुसँग १२४ र पहिलो विकेटका लागि राजमतिसँग ५८ रनको साझेदारी गरिन् । कर्णालीका लागि एक मात्र विकेट दिक्षा पुरीले लिइन् ।