काठमाडौं । नेपाल ससी यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ ।
मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमा समेटियो ।
नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाए ।
वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो ।
वेस्ट इन्डिजका लागि कप्तान समरा रामनाथले २५, असाबी क्यालेन्डरले २३, जजारा क्याक्टनले २२ र एबिगेल ब्रायसले १९ रन बनाए ।
नेपालका लागि रचना चौधरी र सीमाना केसीले समान एक विकेट लिए ।
अब नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा बुधबार अमेरिकाको सामना गर्नेछ ।