काठमाडौं । भारतीय प्रो कबड्डी लिग (पिकेएल)को च्याम्पियन हरियाणा स्टिलर्सका रेडर घनश्याम रोकामगरले नेपाल कबड्डी लिग (एनकेएल) खेल्न उत्साहित रहेको बताएका छन् ।
सोमबार दरबारमार्गस्थित रोयल सिंगी होटलमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा घनश्यामले भने ,‘ नेपालमा पहिले कबड्डीलाई लिएर यस्तो क्रेज कहिल्यै देखेको थिएन । अहिले विभिन्न सुविधाबीच एनकेएल सुरु हुन लाग्दा केही अचम्म पनि लागेको छ । एनकेएलका लागि एकदमै उत्साहित छु ।’
दुई साताअघि घनश्यामसम्मिलित हरियाणा स्टिलर्सले (पिकेएल) को एघारौं संस्करणको उपाधि जितेको थियो । फाइनलमा हरियाणाले सर्वाधिक सफल टोली पटना पाइरट्सलाई ३२–२३ को नतिजामा पराजित गरेको थियो । घनश्याम हरियाणाको जिम्मेवारी सकाएर सोमबार पहिलो पटक नेपाली खेलकुद सञ्चारकर्मीमाझ प्रस्तुत भएका हुन् ।
घनश्यामले नेपाली खेलाडीसँग पिकेएल खेल्न सक्ने क्षमता रहेको पनि बताए । रोल्पा घर भएका घनश्याम भन्छन्,‘नेपाली खेलाडी एकदमै राम्रा छन् । पिकेएलका क्लबहरुको आ–आफ्नै सोच र अवधारणा हुन्छ । तर, मलाई लाग्छ नेपाली खेलाडी पिकेएल जस्तो प्लेटफर्ममा आफ्नो प्रतिभा देखाउन योग्य छ ।’
घनश्यामका आमाबुवा कामकै शिलशिलामा ३२ वर्षअघि रोल्पाबाट भारत गएका थिए । घनश्याम भारतमै जन्मे हुर्केका हुन् । भारतमा कबड्डीको क्रेजका कारण कबड्डीमा होमिएका घनश्यामले व्यावसायिक कबड्डी खेल्नुअघि दुई तीन वर्ष प्रशिक्षणमै बिताएका थिए । यो अवधिमा घनश्यामले भारतमा कुनै पनि स्तरको प्रतियोगिता खेलेनन् ।
दुई वर्षअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न बंगबन्धु कबड्डी प्रतियोगिताको तेस्रो संस्करणमा घनश्यामले नेपाली राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । चौथो संस्करणमा घनश्यामले टोलीको नेतृत्व सम्हाले । घनश्यामको कप्तानीमा नेपालले बंगबन्धु कबड्डी कपको चौंथो संस्करणको उपविजेता बन्यो । घनश्याम प्रतियोगिताकै ‘मस्ट भ्यालुवेबल प्लेयर’ घोषित भए । उनको प्रेरणादायी प्रदर्शनमा नेपालले दुई वर्षअघि जुनियर विश्व च्याम्पियनसिपमा कांस्य पदक पनि जितेको थियो ।
घनश्याम काठमाडौं माभरिक्सका मार्की खेलाडी हुन्। काठमाडौंले एनकेएलको उद्घाटन खेलमा पोखरा लेकर्सको सामना गर्दैछ । यी दुईबीचको खेल माघ ४ गते साँझ ६ः३० मा सुरु हुनेछ ।
लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टिम नकआउट चरणमा स्थान बनाउने छन् ।
शीर्ष दुई टोलीबीच क्वालिफायर १ हुनेछ । यो खेल जित्ने टोली सीधै फाइनल पुग्नेछ ।
यसैगरी तेस्रो र चौथो स्थानमा रहने टोलीबीच इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा हुनेछ । यो खेलमा हार बेहोर्ने टोलीको यात्रा समाप्त हुँदा जित्ने टोलीले क्वालिफायर २ खेल्ने अवसर पाउनेछ ।
क्वालिफायर १ मा पराजित टोली र इलिमिनेटरका विजेताबीच क्वालिफायर २ मा प्रतिस्पर्धा हुनेछ । यो खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।