काठमाडौं । के साँच्चै नेपाली महिला फुटबलमा गोलकिपरको अभाव भएकै हो त ? यो प्रश्न अहिले नेपाली फुटबलको ‘हट टपिक’ बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदान राष्ट्रिय महिला लिगको दोस्रो चरण आयोजनामा व्यस्त छ । जहाँ बलिया टिम पनि गोलकिपर अभावको पीडामा थिचिएका छन् । मैदानमा देखिएको त्यो नाजुक अवस्थाले उठाएको गम्भीर प्रश्न हो यो ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अन्जिला तुम्बाप्पो सुब्बाले गोलपोस्टको जिम्मेवारी सम्हाल्न थालेको एक दशकभन्दा धेरै भइसक्यो । यो अवधिमा अन्जिलालाई चुनौती दिन सक्ने गोलकिपर कति जना आए होलान् त ? जवाफ सहज छ, कोही पनि आएनन् । पछिल्लो समय उमेर समूहमा क्याप्टेनको आर्मब्यान्ड लगाएकी अन्जना रानामगरले अन्जिलालाई केही हदसम्म चुनौती दिइन् ।
यी दुईमध्ये को राम्रो गोलकिपर हो भन्ने जुहारी चलिरहँदा अन्जनाले राष्ट्रिय टिमबाट गन्न सकिने खेलमा पहिलो रोजाईको गोलकिपर बनेर मैदानमा उपस्थिति जनाउन पाएकी छन् । राष्ट्रिय टोलीमा तेस्रो रोजाईकी गोलकिपर हुन्, उषा नाथ । उनलाई पनि बेलाबखत प्रयोग गरिएको छ ।
राष्ट्रिय लिगमा यसपाली एपिएफकी नियमित गोलकिपर अन्जिला लिगमा देखिएकी छैनन् । अन्जिला युरोपको ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी छन् । उनको अनुपस्थितिमा एपिएफले दोस्रो रोजाईकी गोलकिपर सावित्री किसनलाई मैदानमा उतारेको छ । अन्जनाले आर्मीको गोलपोस्ट सम्हालिरहेकी छन् भने उषा पुलिसको पहिलो रोजाईकी गोलकिपर हुन् ।
अन्जिलाको अनुपस्थितिसँगै एपिएफमा गोलकिपरको अभाव खड्किएको छ । लिगमा सुपर स्टेज नाम दिइएको दोस्रो चरण चलिरहेको छ । शनिबार सुपर स्टेजअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा बिभागीय ‘डर्बी’ प्रतिस्पर्धा थियो । जहाँ एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मीविरुद्ध ३-१ गोल अन्तरको जित हासिल गर्यो । चुनौतीपूर्ण खेलमा एपिएफले तेस्रो रोजाईकी गोलकिपर झरना डुम्राकोटीलाई मैदानमा उतार्नु परेको थियो । यस्तो अवस्था कसरी सिर्जना भयो ?
पहिलो हाफको १०औं मिनेटमै बल नियन्त्रण गर्ने क्रममा सावित्री आर्मीकी मिडफिल्डर अञ्जना थुलुङ राईसँग ठोक्किन पुगिन् । गोलका लागि तीव्र गतिमा दोडिएकी अञ्जनाको खुट्टा सावित्रीको छातिमा लाग्यो । जसका कारण सावित्री अचेत भएर मैदानमा लडिन् । फिजियो र चिकित्सकबाट आवश्यक उपचार पाएपछि बल्ल सावित्री खेलमा फर्किइन् । यो अवधिमा खेल आठ मिनेट रोकिएको थियो ।
जसोतसो ४५ मिनेट गोलपोस्ट धानेकी सावित्रीले अब आफू मैदानमा उपस्थिति जनाउन नसक्ने निश्कर्ष निकालिन् । लगत्तै सावित्रीलाई एम्बुलेन्सको सहायतामा अस्पताल लगियो । मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेले सावित्रीको ठाउँमा झरनालाई मैदान उतारे । एपिएफको बेन्चमा झरना एक्ली गोलकिपर थिइन् । त्यसैले पाण्डेसँग अन्य विकल्प थिएन ।
‘हामीसँग अन्य गोलकिपर नै थिएनन् । त्यसैले झरनाले ‘डेब्यु’को अवसर प्राप्त गरिन् । चुनौती त थियो तर, हामीसँग विकल्प पनि त थिएन,’ खेलपछि पाण्डेले प्रतिक्रिया दिए ।
कप्तान अनिता बस्नेतको प्रेरणादायी प्रदर्शनमा एपिएफले आर्मीविरुद्ध ३-१ को जित हासिल गर्यो । एपिएफले चार खेलमा स्पष्ट १२ अंक जोड्यो ।
सोमबारबाट सुपर स्टेजको दोस्रो चरण सुरु भएको छ । एपिएफले बुधबार बागमती युवा क्लबसँग प्रतिस्पर्धा गर्दै दोस्रो चरणको सुरुआत गर्नेछ । त्यतिबेलासम्म सावित्री पूर्ण रुपमा तयार हुने अनुमान गरिएको छ । पाण्डे भन्छन्, ‘अस्पतालको रिपोर्ट हेर्न बाँकी छ । त्यस्तो समस्या नरहेको बुझेका छौं । छातीमा अलिकति समस्या आएको हो । आगामी खेलका लागि उनी तयार हुनेछिन् ।’
सुपर स्टेजका दुवै चरण सकिँदा अंकतालिकाको शीर्ष चार स्थानमा पर्ने टोलीले प्लेअफमा स्थान बनाउनेछन् । यस्तोमा एपिएफ नै उपाधिको निर्विकल्प दाबेदार हो भन्न गाह्रो देखिन्छ । शनिबारकै घटना नदोहोरिएला भन्ने अवस्था छैन । यदी कारणवश शनिबारकै घटना दोहोरिने हो भने एपिएफसँग झरनाको विकल्प रहँदैन । उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेकी झरना एपिएफको यो गरुंगो जिम्मेवारी बहन गर्न कत्तिको सक्षम छिन् त ? प्लेअफ समीकरणका बावजुद उपाधिमा निर्विकल्प दाबेदारी प्रस्तुत गरिरहेको एपिएफका लागि यो चिन्ताको विषय नरहला । तर, यस्तो अवस्थामा एपिएफले मैदानमा आफ्नो उपस्थिति कसरी देखाउँछ, त्यो हेर्न रोचक हुनेछ ।
गोलकिपरको अभाव एपिएफलाई मात्र भएको होइन । नेपाली समग्र महिला फुटबल नै स्तरीय गोलकिपरको अभावमा तडपिएको छ । विभागबाहिरका गोलकिपरको स्तरले पनि यसको पुष्टि गर्दछ । प्रतिस्पर्धामा रहेका पाँच टोलीमध्ये एक हो वालिङ नगरपालिका । अंकको खाता खोल्नै बाँकी वालिङले चार खेलमा ७ गोलको औसतमा कूल २८ गोल खाएको छ । जवाफमा वालिङले एक गोल पनि गर्न सकेको छैन । वालिङविरुद्ध आर्मीले दुई ह्याट्रिकसहित एक दर्जन गोल गरेको थियो । सुपर स्टेजमा यो नै सबैभन्दा ठूलो अन्तरको हार थियो ।
वालिङले ६५ मिनेटभित्र सात गोल खाएको थियो । त्यसपछि मुख्य प्रशिक्षक दीलिप थापाले पहिलो रोजाईकी गोलकिपर राधिका ओलीलाई प्रतिस्थापन गर्दै दोस्रो रोजाइकी सञ्जिना माझीलाई मौका दिएका थिए । तर, सञ्जिनाबाट पनि राम्रो बचाउ हुन सकेन । सञ्जिनाले पाँच गोल खाइन् । वालिङका लागि त्यो तेस्रो खेल थियो । चौथो खेलमा वालिङले विभाग बाहिरको अर्को टोली बागमतीसँग खेल्ने तालिका थियो । एकहिसाबमा यो खेल वालिङका लागि अंक बटुल्ने अवसर रहन सक्थ्यो । तर, प्रशिक्षकको भिन्नै मत थियो ।
बागमतीविरुद्धको खेलअघि थापाले भने, ‘यस्तो खराब गोलकिपिङले हामी कसरी जितको अपेक्षा राख्न सक्छौं ? बागमतीविरुद्ध हाम्रो लक्ष्य भनेकै विपक्षी आक्रमणलाई गोलकिपरसम्म पुग्न नदिनु हुनेछ । मूल कुरा हामी कति बेर गोल नखाई बस्न सकिन्छ भन्ने हो । एक गोल खाएपछि गोलहरु थपिँदै जाने डर छ हामीलाई ।’
थापाले वालिङ मात्र नभएर समग्र महिला फुटबलमै गोलकिपरको अभाव रहेको निश्कर्ष निकाले । भनिहाले, ‘खास भन्ने हो भने नेपालमै राम्रा गोलकिपर छैनन् । विभागीय टोलीमा पहिलो रोजाईबाट खेल्नेबाहेक नेपालमा अन्य गोलकिपर नै छैनन् । विभाग बाहिर तपाइँले कुनै पनि राम्रो गोलकिपर देख्नुभएको छ ?’
नेपाली फुटबलमा उब्जिएको गोलकिपरको गम्भीर प्रश्न सम्बोधन गर्न प्रशासन तयार छ त ? जारी राष्ट्रिय लिग स्तरीय गोलकिपरमात्र नभई सबै पोजिसनको विकल्प खोज्ने मञ्च भने बन्न सक्नेछ ।