काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले जय ट्रफी पुरुष एलिट कपमा लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशविरुद्ध पाँच विकेटको जित दर्ता गरेको छ । जितसँगै पुलिस उपाधि निजक पुगेको छ ।
प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो । यसअघि आर्मीसँग बराबरी खेलेको पुलिसले मधेश प्रदेशलाई हराएको थियो । यता बागमतीको यो पहिलो हार हो । यसअघि बागमतीले मधेश र आर्मीसँग बराबरी खेलेको थियो ।
जनकपुरस्थित रामजानकी मैदानमा आइतबार बागमती प्रदेशले प्रस्तुत गरेको ११६ रनको लक्ष्य पुलिसले पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
पुलिसका लागि अमीत श्रेष्ठले ४५ बलमा ९ चौकाको मद्दतले सर्वाधिक ५६ रनको योगदान गरे । यसैगरी कप्तान कुशल भुर्तेलले ३२ र अर्जुन साउदले अविजित २० रन बनाए ।
बागमतीका लागि कप्तान सन्दीप लामिछानेले दुई तथा नन्दन यादव, प्रतिश जिसी र सूर्य तामाङले समान एक विकेट लिए ।
बागमतीले दोस्रो इनिङमा २१८ रन बनाएपछि पुलिसले ११६ रनको लक्ष्य प्राप्त गरेको थियो ।
८-० को स्थितीबाट दोस्रो दिनको सुरुआत गरेको बागमतीले २१० रन थप्दा सबै १० विकेट गुमायो ।
बागमतीका लागि शुभ कंशाकारले ७४ बलमा १२ चौका र एक छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान दिए । यसैगरी रित गौतमले ९३ बलमा आठ चौकाको मद्दतले ५२, सन्दीप लामिछाने र सूर्य तामाङले समान १६, उत्तम मगरले १४, प्रतिक श्रेष्ठले १३, नन्दन यादवले १० तथा रिजन ढकालले अविजित १० रन बनाए ।
पुलिसका लागि ललितनारायण राजवंशीले तीन, श्रवन यादवले दुई तथा गुल्शनकुमार झा, राशिद खान, कुशल भुर्तेल र प्रेम तामाङले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले पहिलो इनिङमा ११२ रन बनाएको थियो । पुलिसले २२५ रन बनाउँदै १०३ रनको अग्रता लिएको थियो ।
पुलिसले मंगलबार हुने फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीको सामना गर्नेछ । फाइनल तीन दिवसीय हुनेछ।