काठमाडौं । नेपाली यु-१९ टोलीले कर्नाटनाविरुद्धको एकदिवसीय अभ्यास शृखला ३-२ ले आफ्नो पक्षमा पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार सम्पन्न पाँचौं तथा अन्तिम खेलमा आकाश त्रिपाठी र मायन यादवको उत्कृष्ट प्रदर्शनप्रेरित नेपाल सात विकेटले विजयी भयो । यसअघि कर्नाटका एक र पाँच विकेट तथा नेपाल सात विकेट र १२१ रनले विजयी भएका थिए ।
कर्नाटकाले प्रस्तुत गरेको १९२ रनको लक्ष्य नेपालले ३९.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालका लागि आकाशले १०५ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ८९ रनको योगदान गरे । यसैगरी मायनले ६६ बलमा ६ चौका र एक छक्काको मदद्तले ५०, अर्जुन कुमालले २१ र नरेन साउदले अविजित १८ रन बनाए ।
कर्नाटका लागि प्रनभ आश्वथले दुई तथा तेजसले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्नाटकाले ५० ओभरमा सबै विकेट गुमाउँदै १९१ रनको योगफल तयार पारेको थियो ।
कर्नाटकाका लागि कप्तान रोहितले ४१, इशा पुथिगेले अविजित ३८, गगन रावले ३४, शिवले २२ र मालातेशले १० रन बनाए ।
नेपालका लागि कप्तान हेमन्त धामीले तीन तथा अभिषेक तिवारी, नरेन साउद र युवराज खत्रीले समान दुई विकेट लिए ।
नेपालले एसिसी यु-१९ एसिया कपको तयारी स्वरुप कर्नाटकाको युवा टोलीसँग अभ्यास शृंखला खेलेको हो ।