काठमाडौं । सिस्नेरी घटानका पीडित परिवारले सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा लगाएको ताला खोलिएको छ ।
बिहीबार प्रहरीको दमनबीच पीडित परिवार एन्फाको मूल ढोकामा ताला लगाएर धर्ना बसेका थिए । तर, एन्फा पदाधिकारीबाट कुनै पनि प्रतिक्रिया नआएपछि उनीहरुले करिब तीन घण्टापछि ताला खोले ।
एन्फा मुख्यालयको मैदानमा ललित स्मृति एन्फा यु-१८ लिग चलिरहेको थियो । जावलाखेल र खुमलटारबीचको पहिलो खेल अवरोधबीच नै सुरु भयो । दोस्रो खेल मनाङ मर्स्याङ्दी र थ्री स्टारबीच थियो । खेलाडी करिब एक घण्टा सडकमै बसिरहे ।
बिहीबार प्रहरीको समझदारीबीच पीडित परिवारले धर्नालाई टुंग्याए । शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा धर्ना बस्ने उनीहरुको योजना छ ।
गत असोज ११ र १२ गते देशभर भएको अविरल वर्षाका कारण एन्फाले मकवानपुरस्थित सिस्नेरीमा सञ्चालन गरेको एकेडमीबाट सुरक्षित स्थानमा सर्नेक्रममा पहिरोमा परि ६ जना बालकले ज्यान गुमाएका थिए ।
घटनामा परि प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योन्जन, आदित्य बलम्पाखी र विवश बानिँयाको मृत्यु भएको थियो ।
सिस्नेरीको घटना फगत प्राकृतिक प्रकोपमात्र थिएन । त्यहाँ एकेडेमीमा थुप्रै लापरवाही भएको र त्यही लापरवाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको विश्लेषणहरु पनि आइरहेका थिए ।
संघीय संसद चलेको थिएन । तथापि समितिमार्फत यो घटनामाथिको छलफल संसदसम्म पुग्यो । आफ्ना अबोध सन्तानले अनाहकमा ज्यान गुमाउनुपरेको विषयले संसदीय छलफलमै प्रवेश पाएपछि अभिभावकलाई सन्तान गुमाए पनि कम्तिमा न्याय पाउने आशा थियो । यही आशा बोकेर प्रहरी, एन्फा, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्री हुँदै प्रधानमन्त्रीसम्म न्यायको भिख माग्दै धाउनमै अभिभावकहरुले झण्डै दुई महिनाको समय खर्चिए ।