काठमाडौं । पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले दशौं बृहत राष्ट्रिय खेलकुदको आयोजनाबारे चासो व्यक्त गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले राष्ट्रिय खेलकुद समयमै सम्पन्न नहुँदा खेलाडी मारमा परिरहेको प्रतिक्रिया दिएका हुन् ।
‘राष्ट्रिय खेलकुदका लागि सरकारले करोडौं बजेट विनियोजन गरेको थियो । कर्णाली प्रदेशले ठूलो लगानीमा भौतिक संरचना निर्माण गरेको थियो । तर, यस्तो ठोस तयारीका बावजुद युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले विभिन्न बाहानामा प्रतियोगिता समयमा सम्पन्न गर्न असफल भएको छ । यो खेलाडीहरुप्रति गम्भीर अन्याय हो,’ श्रेष्ठले भने ।
दशौं बृहत राष्ट्रिय खेलकुद मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने तालिका थियो । तर, आर्थिक अभाव र पूर्वाधार तयार नभएको बाहानामा प्रतियोगिता तोकिएको मितिमा सुरु हुन नसक्दा खेलाडी मारमा परेका छन् । राखेपले नयाँ मितिको पनि टुंगो लगाएको छैन ।
पूर्व मन्त्री श्रेष्ठले मन्त्रालय र परिषदको लापारवाहीले खेलाडीको मनोबलमा प्रत्यक्ष असर परेको बताए ।
‘यी दुई नियामक निकायको लाचारी पनले खेलाडीको मनोबलमा प्रत्यक्ष असर परेको छ । कर्णाली प्रदेशले पनि यसबाट ठूलो नोक्सान बेहोर्नु परेको छ,’ श्रेष्ठ प्रश्न गर्छन्, ‘यो अवस्थालाई नीतिगत भ्रष्टाचारको एउटा रूप मान्ने कि नमानेर थाती राख्ने ? राष्ट्रिय एकतालाई मजबुत बनाउने यस्तो कार्यक्रमलाई नियामक निकायले किन वास्ता गर्दैन ? यो प्रश्नको उत्तर सरकारले दिनु पर्छ ।’