सातदोबाटो । नेपालकी शिभाली गुरुङ इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत-सर्किट वानको गर्ल्स सिंगल्समा बिहीबार च्याम्पियन बनेकी छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा शिभालीले बंगलादेशी हुमीराह हैदरलाई ६-२ ,६-० को सोझो सेटमा पराजित गरिन् ।
प्रतियोगितामा शिभालीको यो दोश्रो स्वर्ण पदक हो । यसअघि शिभाली र माल्दिभ्सकी अइसथ करिन सइजनको जोडी गर्ल्समा डबल्समा च्याम्पियन बनेको थियो ।
नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइज डबल्समा भारतका अभी अग्रवाल र तनिश नन्दाको जोडी पहिलो भयो । उक्त जोडीले फाइनलमा भारतकै हर्ष मर्वाहा र बंगलादेशका मोहम्मद रकिन रहमानको जोडीलाई ७-६, ६-३ को सोझो सेटमा पराजित गर्यो ।
ब्वाइज सिंगल्समा पनि तनिश र अभी फाइनलमा पुगेका छन् । सेमिफाइनलमा उनले नेपालका वृजेश अर्याललाई ३-६, ६-१, ६-२ ले पराजित गरे । अभीले न्युजिल्यान्डका ज्याक्स रुपविरुद्ध ६-०,६-३ को जित दर्ता गरे ।