काठमाडौं । नेपालले द हङकङ क्रिकेट सिक्सेस प्रतियोगितामा सहभागीता जनाउने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को अनुसार नेपालले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउँदैछ ।
सन् १९९२ देखि सुरु भएको प्रतियोगिताको १९औं संस्करण कात्तिक १६ देखि १८ गते सम्म मिसन रोड क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने बताइएको छ ।
सन् २०१७ मा भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो ।
के हो क्रिकेट सिक्सेस प्रतियोगिता ?
यो पाँच ओभरको प्रतियोगिता हो । यसमा एक खेलाडीले एक ओभर मात्र बलिङ गर्न पाउनेछन् ।
प्रतियोगिताको फाइनलमा भने आठ बलकाे एक ओभर हुनेछ । एक टोलीमा ६ खेलाडी राख्न पाउने व्यवस्था छ । यदी पाँच खेलाडी आउट भएमा अन्तिम ब्याटरले रन राख्न पाउनेछ ।
ब्याटर ३१ रन बनाएपछि रिटायर्ड हर्ट हुनेछ तर आवश्यकता परे पुनः ब्याटिङका लागि आउन सक्छ ।
यसैगरी प्रत्येक वाइड र नो बलमा विपक्षीलाई दुई रन प्रदान गरिनुका साथै थप एक बल दिइनेछ ।