काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) का सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा निर्विरोध चुनिएका छन् ।
आइसिसीको अध्यक्ष पदका लागि अगस्ट २७ (मंगलबार) सम्म उमेदवारी दिइसक्नु पर्ने थियो। जसमा शाहको मात्र उमेम्वारी पर्यो।
शाहको कार्यलका आगामी डिसेम्बर १ देखि सुरु हुनेछ । शाह आइसिसीको अध्यक्ष बन्ने पाँचौं भारतीय हुन् ।
यसअघि जगमोहन डालमिया, शरद पवार, एन श्रीनिवासन र शशांक मनोहरले यो पद सम्हालेका थिए ।
वर्तमान अध्यक्ष ग्रेग बार्कलेले आफ्नो दोस्रो कार्यकाल सकिएपछि राजिनामा दिने घोषणा गरिसकेका छन् ।
बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदैछ । प्रत्येक दुई वर्षमा आइसिसी नयाँ कार्यसमिति चयन हुने प्रबधान छ । बार्कलेले सन् २०२० देखि आइसिसीको नेतृत्व सम्हालिरहेका छन् ।
शाह सन् २०२२ मा आइसिसीको वित्त तथा वाणिज्य मामिला समितिको सदस्य बनेका थिए भने सन् २०२३ मा उनले उक्त समितिको नेतृत्व गरेका थिए।
शाहले सन् २००९ मा गुजरात क्रिकेट संघबाट आफ्नो क्रिकेट प्रशासनिक करियर सुरु गरेका थिए। त्यसपछि उनले सन् २०१९ देखि बिसिसीआइ सचिवको रूपमा छन् । उनको कार्यकाल २०२५ सम्म थियो।
आइसिसीको अध्यक्ष बनेपछि उनले बिसिसीआइ सचिव र आइसिसीको वित्त तथा वाणिज्य मामिला समितिको पदबाट राजीनामा दिनुपर्नेछ।
शाह सन् २०२१ देखि २०२४ सम्म एसियाली क्रिकेट काउन्सिल (एसिसी) को अध्यक्ष पनि थिए।