काठमाडौं । अन्नपूर्ण गाउँपालिका दोश्रो कीर्तिपुर नगरपालिका यु-१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा लगातार दोस्रो पटक च्याम्पियन बनेको छ ।
नयाँ बजारस्थित कीर्तिपुर कभर्डहलमा शनिबार भएको फाइनलमा म्याग्दीको अन्नपूर्णले कास्कीको अन्नपूर्ण गाउँपालिकालाई ७४-६६ ले पराजित गर्यो। विजयी टोलीका लागि सुजन परियार २९ अंक योगदान गरे । कास्कीको अन्नपूर्णका ओमकार रखालले ३३ अंक जोडे पनि त्यो जितका लागि पर्याप्त भएन ।
उपाधिसँगै म्याग्दीको अन्नपूर्णले १ लाख रुपैयाँ पाउँदा उपविजेता कास्कीको अन्नपूर्णले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
कीर्तिपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा म्याग्दीको अन्नपूर्णका रनिक गर्बुजा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।
विजेतालाई संघीय सांसद् एवं युवा तथा खेलकुद पूर्व मन्त्री राजेन्द्र केसी (राजन), बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारी मन्त्री पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मी र उपमेयर शुभलक्ष्मी शाक्य, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनलगायतले पुरस्कार वितरण गरे ।
फागुन ६ गतेदेखि सुरु प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गरेका थिए ।