काठमाडौं । एसियाली ट्रायल मास्टर च्याम्पियनसिपमा नौ नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् ।
मलेसियाको सबाहमा हुने प्रतियोगिताका लागि १२ सदस्यीय नेपाली टोली बिहीबार मलेसिया प्रस्थान गर्दैछ ।
सेप्टेम्बर १२ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा रशिला तामाङ, प्रिया राई, छोकी शेर्पा, पदमकुमारी सुनुवार, आङफुर्वा शेर्पा, मिलन कुलुङ, लोकेन्द्र राई, अर्जुन कुलुङराई र फुर्पासिंगी तामाङले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
रशिला भने प्रतियोगिताका लागि स्पेनमा रहेकाले उतैबाट मलेसिया जाने छिन् । सबै खेलाडीले ७८ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने नेपाल एडभेन्चर रनिङ महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जानकारी दिए ।
टोलीको प्रशिक्षकमा पूर्ण तामाङ तथा अफिसियलमा सुवास थापा र रिकेश योञ्जन छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र राखेप कार्यकारी समितिका सदस्य एवं नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले मंगलबार बिदाइ गरे ।