काठमाडौं । गनन्जय दाहाल र वियंका राईले चौथो अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगिताको खुला सिंगल्समा शनिबार च्याम्पियन बनेक छन् । गनन्जयले पुरुष तथा वियंकाले महिलातर्फको उपाधि जिते ।
लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा बेलकोटगढी-८, नुवाकोटका गनन्जयले ललितपुर-१६ का संयोग कपालीलाई ११-८, ८-११, १२-१०, १२-१० को सेटमा पराजित गरे । भक्तपुर-६ का राजीव चिकबन्जार र सुजन गडाल तेश्रो भए ।
महिला सिंगल्सको उपाधि भिडन्तमा संखुवासभा-८ की वियंकाले काठमाडौं-२ की रविना महर्जनलाई ११-३, १२-१०,१३-११ को सोझो सेटमा हराइन् । काठमाडौं २ सुस्मिता खड्का र कीर्तिपुर-६ की योङगी पौडेल तेश्रो स्थान हासिल गरे ।
दुवै सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५०० रुपैयाँसहित अनर मोबाइल फोन प्राप्त गरे ।
स्पिन इभेन्ट प्रालिद्वारा आयोजित प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु-१६ सिंगल्सको ब्वाइजमा काठमाडौं-२६ का आर्यन शाही र गर्ल्समा काठमाडौं-२ की शुभश्री श्रेष्ठ, टिम इभेन्टको पुरुषमा ललितपुर-८ र महिलामा भक्तपुर-५ पहिलो भएका थिए ।
यसैगरी भेट्रान सिंगल्सको ४० वर्षमाथि महिलामा काठमाडौं-२९ की इन्दिरा पौडेल पराजुली, पुरुष ४० वर्षमाथिमा काठमाडौं-२६ का चन्दन शाही, ५० वर्षमाथिमा ललितपुर-११ का राजेन्द्र वज्राचार्य र ६० वर्षमाथिमा धरान-१२ का राजन सुब्बा पहिलो भएका थिए । भेट्रान ४० वर्षमाथि पुरुष टिम इभेन्टमा ललितपुर-१६ ले उपाधि जित्यो ।
प्रतियोगितामा काठमाडौं-२६ दुई स्वर्ण र एक कांस्य पदकसहित टिम च्याम्पियन बन्यो । दोश्रो भएको ललितपुर-११ ले एक स्वर्ण, दुई रजत र एक कांस्य पदक हात पार्यो । एक स्वर्ण, एक रजत र दुई कांस्य पदकसाथ ललितपुर-१६ ले तेश्रो स्थान हासिल गर्यो ।
विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन, अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, टेबल टेनिस संघका उपाध्यक्ष एवं मुख्य प्रायोजक सुमन खड्गी, टेबल टेनिस संघका महासचिव कुँवेरलगायतले पुरस्कृत गरे ।