काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत आज प्रतियोगिताको पाँचौं दिन । दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।
जहाँ लुम्बिनी जितका साथ मैदान उत्रिनेछ, विराटनगरलाई भने जित्नै पर्ने दबाब छ । किनभने, प्रतियोगितामा विराटनगरको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमा कोशी प्रदेशको प्रतिनिधित्व गरिरहेको विराटनगरले पराजय बेहोरेको छ । त्यसैले आज विराटनगरलाई जितबाहेक विकल्प छैन । लुम्बिनीलाई नतिजा सुम्पिने हो त, विराटनगरको प्लेअफ पुग्ने सम्भावना न्युन हुनेछ ।
पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटको पराजित विराटनगरले दोस्रो खेलमा मंगलबार सुदूरपश्चिम रोयल्सविरुद्ध ९० रनको हार बेहोर्यो । यी दुई नतिजाका कारण विराटनगर केही हदसम्म लुम्बिनीविरुद्ध मनोवैज्ञानिक रूपमा दबाबमा हुनेछ ।
विराटनगरले औसतमा १०९ रन जोडेको छ । जुन ट्वान्टी-२० फर्म्याटमा निकै कम स्कोरलाइन हो । पहिलो खेलमा १२७ रन जोडेको विराटनगरले दोस्रो खेलमा मात्र ९२ रन बनाउन सक्यो । जसमा ओपनर मार्टिन गप्टिलको अर्धशतकीय पारी सामेल छ । गप्टिलले जनकपुरविरुद्ध ५२ रनको पारी खेलेका थिए । दुवै खेलमा विराटनगर अलआउट भएको थियो ।
विकेटको कुरा गर्ने हो भने विराटनगरले पहिलो खेलमा दुई विकेट लिँदा दोस्रो खेलमा सात विकेट हासिल गरेको थियो । विराटनगरका यी विकेट अर्थहीन रह्यो भन्दा फरक पर्दैन । किनभने, विपक्षीको नतिजामा यसले कुनै पनि असर पार्ने काम गरेन । यद्यपि विराटनगरले दुवै खेलमा सुरुआत राम्रो गरेको थियो । तर, मध्यावधिमा बलरले विकेट लिन नसक्दा सुरुआती सफलता औपचारिकतामा सिमित भयो ।
जनकपुरविरुद्धका दुई विकेट दोस्रो ओभरमै हासिल गरेको थियो । मार्की आसिफ शेखलाई खाता नै खोल्न नपाई पेभिलियन फर्काएको विराटनगरले कप्तान अनिल शाहलाई पाँच रनमा आउट गरेको थियो । त्यसपछि जनकपुरले कुनै पनि विकेट गुमाएन ।
सुदूरपश्चिमविरुद्ध पनि त्यही कथा दोहोरियो । सुदूरपश्चिमले प्रत्येक २० रनमा विकेट गुमाइरहेको थियो । आधा खेलाडी पेभिलियन फर्किँदा सुदूरपश्चिमले ८९ रन जोडेको थियो । तर, खेल सकिँदासम्म सुदूरपश्चिमले सात विकेटको क्षतिमा १८२ रनको योगफल तयार गर्यो । यो जारी प्रतियोगिताकै उच्च योगफल रह्यो । अनि विराटनगरको यो हार रनका हिसाबले सबैभन्दा धेरै अन्तरको हार हो ।
विकेट र रनको तथ्याङ्क हेर्ने हो भने विराटनगरका लागि कप्तान तथा स्पिनर सन्दीप लामिछाने सबैभन्दा महंगा सावित भएका छन् । उनले आठ ओभरमा विना विकेट ६१ रन खर्चिएका छन् ।
‘हाम्रो सुरुआत आज पनि राम्रो थियो । तर, मध्यावधिमा हामी चुक्यौं । विकेट नै निकाल्न सकेनौं,’ सुदूरपश्चिमविरुद्धको खेलपछि सन्दीपले भने, ‘खेलाडीले आफ्नो अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । प्रयास गर्दा पनि सफल भइएको छैन ।’
‘विकेट निकाल्नु मेरो कर्तव्य हो । तर, चाहेर पनि विकेट निस्किरहेको छैन । विकेट नआइरहेको खण्डमा रन रोक्ने प्रयास गरिरहन्छु,’ व्यक्तिगत प्रदर्शनका बारेमा सन्दीपले बताए ।
जनकपुरविरुद्ध अर्धशतक प्रहार गरेका गप्टिल सुदूरपश्चिमविरुद्ध खाता नै खोल्न नपाई पेभिलियन फर्किएका थिए । लुम्बिनीविरुद्ध गप्टिलको लय विराटनगरलाई केही हदसम्म चिन्ताको विषय बन्न सक्छ । स्वास्थ्यमा समस्या आएका कारण सुदूरपश्चिमविरुद्ध अनुपस्थित ओमानी ब्याटर किब इल्यासले लुम्बिनीविरुद्ध पनि खेल्ने नखेल्ने टुंगो छैन । इल्यासको पुनरागमन भएमा विराटनगरलाई केही राहत मिल्नेछ । उनी बलबाट पनि उत्तिकै योगदान दिन सक्ने खेलाडी हुन् । जनकपुरविरुद्ध उनले तीन ओभरमा मात्र १९ रन खर्चिएका थिए ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल मार्की रहेको लुम्बिनीले त्रिविको नयाँ पिचलाई बुझ्न पर्याप्त समय पाएको छ । जसका कारण विराटनगरविरुद्ध लुम्बिनी पूर्ण रुपमा तयार भएर मैदान ओर्लिनेछ ।
मुख्य प्रशिक्षक नन्दन फाड्निसले प्रतियोगिताको पूर्वसन्ध्यामा भनेका थिए, ‘हाम्रो तयारी एकदमै राम्रो भएको छ । भैरहवामा राम्रो अभ्यास गर्यौँ । त्यसपछि काठमाडौंमा पनि केही दिन अभ्यासमै बितायौं । त्रिविको नयाँ पिचबारे सबै अनविज्ञ छन् । हामीसँग चार दिनको समय छ, पिचलाई बुझ्न । पिचले कसरी काम गर्नेछ भनेर बुझ्छौं अनि जितको तयारी गरेर मैदानमा जानेछौं ।’
सन्दीप जोरा, विवेक यादव र अर्जुन साउद लुम्बिनीका हेर्नलायक घरेलु खेलाडी हुन् । लुम्बिनीले पाँच विदेशी खेलाडी अनुबन्ध गरेको छ । अस्ट्रेलियाका बेन कटिङ, पूर्वभारतीय क्रिकेटर उन्मुक्त चन्द, इङ्ल्यान्डका टम मुर्स, वेस्ट इन्डिजका रेमन सिमन्ड्स र क्यानाडाका साद बिन जाफर लुम्बिनीका विदेशी खेलाडी हुन् ।
दिनको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज आमने सामने हुनेछन् । यो खेल बिहान ९ बजे सुरु हुनेछ ।