काठमाडौं । अल नेपाल अन्तरवडा टेबल टेनिस प्रतियोगिताको यु-१६ गर्ल्स सिंगल्समा काठमाडौं-२ की शुभश्री श्रेष्ठले बिहीबार स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा शुभश्रीले कञ्चन्पुर-५ की महिमा महतालाई ११-५, ११-३, ११-१ को सोझो सेटमा पराजित गरिन् ।
खुलातर्फ पुरुष सिंगल्समा बालकोटगढी-८ का गनन्जय दाहाल र ललितपुर-१६ का संयोग कपाली फाइनलमा पुगे । गनन्जयले भक्तपुर-५ का राजीव चिकञ्वन्जारलाई ११-५, ११-९, ११–९ तथा संयोगले सिन्धुपाल्चोक-६ का सुजन गडाललाई ११-६, ११-६, ११-६ को सोझो सेटमा हराए ।
सोही स्पर्धाको गर्ल्समा काठमाडौं-२ की रविना महर्जनले सोही वडाकी सुस्मिता खड्कालाई ११-६, १५-१३, ११-५ तथा संखुवासभा-४ की वियंका राईले कीर्तिपुर-६ की योङगी पौडेललाई ७-११, ११-८, ९-११, ११-५, ११-८ को सेटमा निरास बनाउँदै फाइनल यात्रा तय गरे ।