काठमाडौं । प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेजले सोमबार ब्लु बर्डलाई २८-२३ ले पराजित गरेको छ ।
सानागाउँस्थित रोयल स्पोर्टस सेन्ट्रलको कोर्टमा जेभियरलाई सुखद सुरुआत दिलाउन पेमाडोमा शेर्पाले सर्वाधिक १३ अंक जोडिन् ।
सुरुका तीन क्वार्टरमा जेभियरले क्रमशः ८-२, ८-६ , १२-७ को अंक जोड्यो । चौथो तथा अन्तिम क्वार्टरमा ब्लु बर्डले ८-० को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन ।
प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पिइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले पनि जितका प्रतियोगिताको सुरुआत गरे ।
गोल्डेनगेटले कान्जिरोवालाई ३८-१३ ले हरायो । गोल्डेनगेटकी सन्ध्या डंगोलले १५ स्कोर गरिन् । पहिलो क्वाटरमा १६-५ को अग्रता लिएको गोल्डेनगेटले अन्तिमसम्म त्यसलाई कायम राख्दै ६-४, ७-२, ९-२ को प्रदर्शन गर्यो ।
ल्यान्डमार्कले ट्रिटन इन्टरनेसनल कलेजलाई ३०-१० ले निरास बनायो । विजयी टिमका लागि साजन खत्रीले १६ अंक जोडिन् ।
पहिलो र दोश्रो क्वार्टरमा क्रमशः १४-२, ८-० ले अगाडि रहेको ल्यान्डमार्क तेश्रोमा भने ०-६ ले पछि पर्यो । चौथो तथा अन्तिम क्वार्टरमा ल्यान्डमार्क ८-२ ले अगाडि रह्यो ।
प्रतियोगितामा सहभागी सात टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल भदौ २२ गते हुनेछ ।