सिड्नी । अस्ट्रेलियन टेनिस खेलाडी निक किर्गियोसले विश्व नम्बर एक नोभाक जोकोभिचले अस्ट्रेलियन ओपन खेल्ने अनुमती पाए उनले थप सुदृण प्रदर्शन गर्ने दाबी गरेका छन् ।
बिहीबार अस्ट्रेलियन ओपन खेल्न अनुमती पाएको भन्दै मेलनबर्न पुगेका नौ पटकका विजेता जोकोभिचलाई कोभिड १९ संक्रमणविरुद्ध खोप लगाएको प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै अस्ट्रेलिया सरकारले उनको भिसा रद्द गरिदिएको थियो ।
त्यसयता उनी पार्क होटलमा बस्न बाध्य छन् । बिहीबार अनलाइनमार्फत आफूलाई फिर्ता पठाउने अस्ट्रेलियन सरकारको निर्णयविरुद्धको जोकोभिचको अपिलमा त्यहाँको एक अदालतले सोमबार सम्म सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
जोकोभिचका वकिकले आफूहरु आवश्यक सबै कागजातसहित उपस्थित हुँदा समेत नियोजित रुपमा बदनाम गराउन खोजिएको आरोप लगाएका थिए ।
जोकोभिच अस्ट्रलियन ओपनको उपाधि रक्षा गर्ने लक्ष्यमा छन् । जोकोभिच सामु कीर्तिमानी २१औं ग्रान्ड स्लाम जित्ने अवसर समेत रहेको छ ।
जोकोभिचसँगै राफेल नाडाल र रोजर फेडेररको नाममा २०औं ग्रान्ड स्लामको कीर्तिमान रहेको छ ।
विगतमा जोकोभिचको आलोचक रहेका किर्गियोस यस पटक भने उनको समर्थनमा आएका हुन् ।
‘प्रतियोगिताको सानका लागि पनि हामी जोकोभिचलाई अस्ट्रेलियन ओपनमा देख्न चाहन्छौ’, किर्गियासले भने, ‘मलाई निकै नरमाइलो लागिरहेको छ । अस्ट्रेलियन ओपन खेल्ने अनुमती पाएमा उनले अझ सुदृण प्रदर्शन गर्नेमा म विश्वस्त छु ।’
किर्गियोसले अस्ट्रेलियन नागरिकहरुलाई जोकोभिचको सम्मान गर्न समेत आग्रह गरेका छन् ।