काठमाडौं । भारत र श्रीलंकामा चलिरहेका ट्वान्टी २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज९बिहीबार० इटलीको सामना गर्दैछ । ट्वान्टी २० को प्रारुपमा नेपालले इटलीको पहिलो पटक सामना गर्न लागेको हो । नेपाल र इटलीबीचको खेल मुम्बईको वानखडे क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहिबार दिउँसो ३ः१५ बाट सुरु हुनेछ ।
विश्वकपको समूह सी मा रहेका दुवै देशको यो दोस्रो खेल हो । यस समूहमा नेपाल र इटली मात्र अंक बिहिन रहेका छन् । यस समूहमा ४ अंकका साथ वेस्ट इण्डिज शीर्ष तथा समान २ अंक भएका स्कटल्याण्ड र इङ्ल्याण्ड क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । सुपर आठको सम्भावना कायमै राख्न दुवै टोलीका लागि यस खेलमा जित महत्वपुर्ण रहेको छ ।
नेपाल पहिलो खेलमा इङ्ल्याण्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो । इटली भने पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । ट्वान्टी २० को प्रारुपमा यि दुई देश पहिलो पटक खेल्न लागेका भए पनि ५० ओभरको प्रारुपमा भने ३ पटक आमनेसामने भइसकेका छन् । इटलीसँग भएका तीनै भेटमा नेपालले नतिजा आफ्नो पक्षमा पारेको छ ।
नेपाल र इटलीको विगत
क्यानडामा सन् २००१ मा आयोजना भएको आइसिसी ट्रफीमा नेपाल र इटली एकै समूहमा रहे पनि अन्तिम समयमा इटलीले प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै इटली र नेपालको भेट असम्भव भयो ।
नेपाल र इटलीबीचको पहिलो खेल सन् २००५ मा मलेसियामा आयोजना भएको विश्वकप छनोट सिरिज डिभिजन २ मा भएको थियो । उक्त भेटमा नेपालले इटलीलाई पराजित गरेको थियो । यस खेलमा नेपालका लागि शक्ति गौचनले शतक प्रहार गरेका थिए । शक्ति उक्त खेलमा १ सय ३ बलमा अविजित १ सय ६ रन प्रहार गरेका थिए । शक्तिको उक्त शतक युरोपेली राष्ट्रविरुद्ध नेपालको पहिलो शतक थियो ।
सन् २०१० मा उसको घरैमा आयोजना भएको विश्वकप लिग डिभिजन ४ मा नेपालले इटलीको सामना गरको थियो । यस खेलमा नेपालले इटलीलाई ५ विकेटले पराजित गर्यो । यो खेलमा अमृत भट्टराईले महत्वपुर्ण ३ विकेट लिएका थिए ।
तेस्रो तथा इटलीसँगको पछिल्लो भेट सन् २०१३ मा बर्मुडामा भएको विश्वकप लिग डिभिजन ३ मा भेट भएको थियो । उक्त खेलमा नेपालले इटलीलाई ८ विकेटले पराजित गरेको थियो । उक्त खेलमा इटलीले दिएको १ सय २८ रनको लक्ष्य नेपालले १४।५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।
सन् २०१२ र २०१३ मा आयोजना भएको ट्वान्टी २० विश्वकप ग्लोबल छनोटमा इटली र नेपाल सहभागी भएका थिए । सहभागी भए पनि फरक समूहमा रहेका कारण इटली र नेपालको खेल भने भएको थिएन ।
इटलीले युरोपेली क्षेत्रीय छनोट पार गर्दै पहिलो पटक ट्वान्टी २० विश्वकपमा स्थान बनाएको हो । नेपाल अहिले आइसिसीको ट्वान्टी २० वरियतामा १६औं स्थानमा रहँदा इटली २७औं स्थानमा रहेको छ । बिहीबार नेपालले इटलीलाई ट्वान्टी २० आईको ३१औं प्रतिद्वन्दी मुलुकको रुपमा रहनेछ ।
ध्चष्तभ तय पल त्भबm
