काठमाडौं । वरिष्ठ खेल पत्रकार विष्णु थापाद्वारा लिखित ‘खेलाडीः संघर्षदेखि सफलतासम्म’ पुस्तक शुक्रबार विमोचन भएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विमोचन गरे । उनले खेलकुद राष्ट्रको समृद्धि मापन गर्ने महत्वपूर्ण कडी भएको बताउँदै यो पुस्तक भावी पुस्ताका लागि प्रेरणाका स्रोत हुनुका साथै महत्वपूर्ण दस्तावेजका रुपमा पनि रहने बताए ।
राष्ट्रिय खेलकुद परिषद् ( राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीका विषयमा पत्रपत्रिकामा समाचार आए पनि पुस्तकका रुपमा संग्रहित हुन नसकिरहेको अवस्थामा यो पुस्तकले अरु धेरै पुस्तक लेखनका लागि पनि प्रेरणा दिने बताए । उनले खेलाडीका संघर्ष र सफलताका कथाहरु लगातार लेखिनुपर्नेमा जोड दिए ।
यसैगरी नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले खेलाडीले गरेको संघर्ष, भोगेका दुःख कष्ट र चुनौती तथा उनीहरुको साहसिक सफलताका कथाहरुलाई एउटा सिंगो पुस्तकका रुपमा सिंगारेकोमा थापालाई बधाइ दिँदै नेपाली खेलकुदमा सबैभन्दा ठूलो समस्याका रुपमा रहेको दस्तावेजीकरणको अभावलाई केही हदसम्म भए पनि पूर्ती गर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ब्याडमिन्टनका अन्तर्राष्ट्रिय निर्णायक दीपक थापालागायतले आफ्नो घारणा राखेका र्थि ।
पुस्तकका लेखक थापाले नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको बताए ।
उनले नेपाललाई पहिलो पदक दिलाउन सफल एउटा सिंगो इतिहासका साक्षी जितबहादुर केसीदेखि पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पलेसा गोवद्र्धनसम्मको संघर्ष, सफलता र उतारचढावको विषयबस्तुलाई पुस्तकमा समेटिएको बताए ।
‘अन्नपूर्ण पोस्टमा कार्यरत थापा विगत दुई दशकभन्दा बढी समयदेखि खेलकुद पत्रकारितामा क्रियाशील छन् ।
नेपाल माला मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकमा ७७ खेलाडीका व्यक्तिचित्र संग्रहित छन् । पुस्तक २६० पृष्ठको छ ।