कार्तिक १५, २०८२ शनिबार | ०७:३९:५८
स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त स्वार्थ समूहको गोल चक्करमा नफसुन जेन्जी मन्त्री अस्तव्यस्त भ्रमणमा सान्त्वना जितको अर्थ नेपालले कहिले पाउँछ टेस्ट मान्यता ? राष्ट्रिय फुटबल टिमः प्रशिक्षकहरू आएगए ‘फेरि अर्काे प्रतियोगितालाई दुई वर्ष कुर्न नपरोस्’ लिभरपुललाई भयो के ? दोस्रो ट्वान्टी-२० मा अस्ट्रेलिया विजयी एथलेटिक्स खेलाडी सम्मानित विराटनगर भित्रिए फाफ डुप्लेसिस हरि खड्का राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नियुक्त
शनिबारको दिन

नेपालले कहिले पाउँछ टेस्ट मान्यता ?

काठमाडौं । संयुुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र अमेरिका बीचको खेलमा एउटा रोचक दृश्य देखिएको थियो । एक नेपाली समर्थकले प्ले कार्डमार्फत आइसिसीलाई प्रश्न गरेका थिए ‘नेपालले कहिले आइसिसीको पूर्ण सदस्य (टेस्ट राष्ट्र) को मान्यता पाउँछ । 

नेपाली क्रिकेट वृत्तमा यो प्रश्न उठ्न थालेको दुई दशकभन्दा बढी भइसकेको छ । जब नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सफलता पाउँछ, तब यो विषय पनि उठ्न थाल्छ । नेपालले केही समयअगाडि मात्र तेस्रो पटक आइसिसी टी ट्वान्टी विश्वकपमा स्थान पक्का गरेको छ । र, नेपाली क्रिकेटमा फेरि टेस्ट मान्यताका कुराले चर्चा पाउन थालेको छ । 

नेपालले सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दा तत्कालीन कप्तान पारस खड्काले १० वर्ष भित्रमा टेस्ट मान्यता प्राप्त गर्ने लक्ष्य रहेको बताएका थिए  । अहिले परिस्थिति फेरिएको छ । अहिले पारस खड्का खेल्न छाडेर व्यवस्थापनमा लागेका छन् । उनी अहिले नेपाल क्रिकेट संघ (क्यान) को सचिव हुन् । पारसको भूमिका फेरिए पनि आम समर्थकको प्रश्न फेरिएको छैन । अर्थात् फेरि पनि समर्थकहरु प्रश्न गर्दैछन्, नेपालले कहिले टेस्ट मान्यता पाउँछ ?

समर्थकका लागि नेपालले खेल्ने प्रत्येक खेलमा जित बाहेकको विकल्प हुँदैन । जहाँ नेपाली क्रिकेटको उपस्थिति हुन्छ, त्यहाँ सफलता पाउनैपर्ने भावना समर्थकले राख्नु नाजायज पनि होइन । नेपालले टेस्ट मान्यता पाउनुपर्ने विषय पनि समर्थकको त्यही भावनाको उपज हो ।

तर टेस्ट मान्यता पाउन यति सजिलो छ त ? त्यसका लागि केही आधार हुनुपर्दैन ? टिमले मैदानभित्र एकाध पटक गरेका उम्दा प्रदर्शन मात्र त्यसका लागि पर्याप्त हुन्छ त ? ठूलो संख्याका समर्थकको अगाध माया पोखिनुको कारणले मात्र आइसिसीलाई यति ठूलो निर्णयका लागि बाध्य पार्न सक्ला त ?

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का । 

पक्कै पनि यी विषयहरू नेपालले पूर्ण सदस्यता वा टेस्ट मान्यता पाउने बाटोका लागि सकारात्मक पक्षहरू हुन् । तर, यतिले मात्र पक्कै पुग्दैन । देशभित्र कम्तीमा पनि २/४ वटा अन्तर्राष्ट्रिय स्तरका सुविधासम्पन्न रंगशाला हुनुपर्यो । एउटा एनपिएलको भव्यतामा पूरा देश रमिरहेको बेला उत्तिकै भव्य रूपमा घरेलु संरचना स्थापित हुनुपर्छ । अनि पाँच दिने क्रिकेट खेल्ने कल्पना गरिरहँदा त्यसको तयारीस्वरूप दुई, तीन र चार दिने लामो स्वरूपका क्रिकेट खेल्ने बानी बसाल्नुपर्छ । लामो स्वरूपको घरेलु संरचना बनाउनुपर्ने भन्दै दशकभन्दा अगाडिदेखि उठाइँदै आएको विषयलाई व्यवहारमा लागु गरेर आइसिसीले निर्णय गर्दासम्मका लागि आफूलाई तयार पार्नुपर्छ ।

आइसिसीमा हाल ११० राष्ट्र आबद्ध छन् । जसमा १२ राष्ट्रले मात्र टेस्ट मान्यता पाएका छन् ।

पूर्वकप्तान एवं क्यानका वर्तमान सचिव खड्का तत्कालका लागि कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउनु नेपाली क्रिकेटको पहिलो प्राथमिकता रहेको बताउँछन् । उनको यो भनाईले पनि नेपाली क्रिकेटको धरातल कस्तो छ भनेर बुझाउँछ ।

‘टेस्ट राष्ट्रको कुरा उठेको एक दशकभन्दा बढी भइसकेको छ । सन् २०१४ को विश्वकप खेल्दा कप्तानको रूपमा मैले नै अबको १० वर्षमा टेस्ट मान्यता पाउन सक्छ भनेको थिएँ । तर अहिलेसम्म पूरा हुन सकेको छैन । हामीले आइसिसीको पूर्ण सदस्य बन्नका लागि प्रयास गरिरहेका छौं । त्यसमा आइसिसीका केही सर्त छन्,’ खड्का भन्छन्, ‘अहिले क्यानको प्राथमिकता क्रिकेट मैदान निर्माणमा छ । कम्तीमा पनि २५ देखि ३० हजार दर्शक क्षमताको रंगशाला बन्ने हो भने क्यान आत्मनिर्भर बन्न सक्छ । जसले गर्दा हामी आफ्नो घरेलु संरचनालाई बलियो बनाउन सक्छौं । ग्रासरुटमा लगानी बढाउन सक्छौं । जसले आइसिसीका सर्तहरू पूरा गर्न सहयोग पुग्छ ।’

ट्वान्टी -२० अन्तर्राष्ट्रिय शृंखलामा प्रतिस्पर्धा गर्दै नेपाल र वेस्ट इन्डिज ।

पूर्ण सदस्यको हैसियत दिन आइसिसीका सर्त

आइसिसीको पूर्ण मान्यता प्राप्त गर्न कुनै पनि टोलीले आठ वर्षको अन्तरमा तीन वटा विश्वकप खेलेको हुनुपर्नेछ । त्यसमा एकदिवसीय वा टी ट्वान्टी जुनसुकै स्वरूपमा भए पनि तीन विश्वकप खेले सम्बन्धित देश पूर्ण सदस्य बन्नका लागि लायक हुनेछ ।

नेपालले सन् २०२४ र २०२६ मा लगातार दुई पटक पुरुष टी ट्वान्टी विश्वकप खेल्दैछ  । अबको ६ वर्ष भित्रमा थप एक पटक विश्वकपमा स्थान बनाउन सके नेपालले यो सर्त पूरा गर्नेछ ।

– सोही अवधिमा आइसिसी वरीयतामा शीर्ष १० स्थानभित्र रहेका कम्तीमा दुई फरक टोलीविरुद्ध कम्तीमा निकाल्नुपर्ने हुन्छ ।

नेपालल भर्खरै वेस्ट इन्डिविरुद्ध टी ट्वान्टी अन्तर्राष्ट्रियमा दुई जित निकालेको छ । अब अर्को कुनै टिमविरुद्ध दुई जित निकाल्न सके नेपालले यो सर्त पनि पूरा गर्नेछ ।

– टेस्ट मान्यता प्राप्त गर्न पुरुष राष्ट्रिय टोलीले मात्र उत्कृष्ट प्रदर्शन गरेर पुग्दैन । त्यसका लागि महिला टोली र उमेरसमूहको प्रदर्शन पनि उस्तै हुनुपर्छ । आइसिसीको सर्तअनुसार पूर्ण सदस्यता पाउन महिला टोलीले चार वर्षको अन्तरमा कम्तीमा पनि एउटा विश्वकप खेलेको हुनुपर्नेछ ।

नेपाली महिला टोलीको प्रदर्शन अन्तर्राष्ट्रिय क्रिकेटमा त्यति उत्साहजनक छैन । टोलीले हालसम्म विश्वकपमा स्थान बनाउन सकेको छैन ।

–यु-१९ टोलीले आठ वर्षको अन्तरालमा कम्तिमा पनि दुई वटा विश्वकप खेलेको हुनुपर्नेछ ।

नेपालको यु-१९ पुरुष टोलीले भने ८ पटक एकदिवसीय विश्वकप खेलिसकेको छ । महिला टोलीले पनि एक पटक ट्वान्टी-२० विश्वकप खेलिसकेको छ । पछिल्लो आठ वर्षमा भने महिलातर्फ एक पटक खेलेको छ भने पुरुषमा पनि एक पटक मात्र खेलेको छ ।

राष्ट्रिय महिला क्रिकेट टोली । 

–यसैगरी घरेलु क्रिकेटको संरचना पनि बलियो हुनुपर्छ । आइसिसीको सर्तअनुसार वर्षमा कम्तीमा पनि एउटा पुरुष एकदिवसीय र टी ट्वान्टी प्रतियोगिता हुनुपर्नेछ । यसैगरी महिला र यु–१९ टोलीले पनि नियमित घरेलु प्रतियोगितामा सहभागिता जनाइरहेको हुनुपर्नेछ ।

नेपालमा महिला र पुरुष दुवैतर्फ सबै उमेरसमूहमा एकदिवसीय र २० ओभरका घरेलु प्रतियोगिताको संरचना छ । तर त्यसले नियमितता नपाइरहेका कारण भने आइसिसीको मापदण्ड पूरा हुँदैन ।

आइसिसीको सर्तअनुसार पूर्ण सदस्यता प्राप्त गर्नका लागि कम्तिमा पनि दुई वटा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान चाहिन्छ । अहिले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइटसहित १० हजार दर्शक क्षमताको प्यारापिट बन्दैछ । यो नेपाललाई आफ्नाे लक्ष्य प्राप्तीको बाटोमा कोशेढुंगा साबित हुन सक्छ ।

नेपालको अन्तर्राष्ट्रिय यात्रा

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला चालेको नेपालले सन् २०१४ मा ट्वान्टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । यसैगरी नेपाल सन् २०१८ देखि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त टोलीमा रूपमा छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाली क्रिकेटमा निकै परिवर्तन देखिएका छन् । क्यानले आइसिसीबाट पाउने बजेटमा वृद्धि भएको छ । यसले क्रिकेटको विकासमा सहयोग पुगेको छ ।

टोलीले हालसम्म सन् २०१४ र २०२४ गरी दुई पटक ट्वान्टी-२० विश्वकप खेलिसकेको छ । यस्तै नेपाल सन् २०२६ को ट्वान्टी-२० विश्वकपका लागि पनि छनोट भइसकेको छ ।

आइसिसीका पूर्ण सदस्यहरू

आइसिसीमा हाल ११० राष्ट्र आबद्ध छन् । जसमा १२ राष्ट्रले मात्र टेस्ट मान्यता पाएका छन् । पछिल्लो पटक सन् २०१७ मा अफगानिस्तान र आयरल्यान्डले टेस्ट मान्यता प्राप्त गरेका थिए ।

त्यसअघि अस्ट्रेलिया, इङ्ल्यान्ड,भारत, वेस्ट इन्डिज, पाकिस्तान, दक्षिण अफ्रिका श्रीलंका, न्युजिल्यान्ड, जिम्बावे र बंगलादेशले टेस्ट मान्यता प्राप्त गरेका थिए ।