काठमाडौं । दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान फाफ डुप्लेसिसले विराटनगर किङ्सबाट आसन्न नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण खेल्ने भएका छन् ।
शुक्रबार फ्रेन्चाइज टोली विराटनगरले विज्ञप्तिमार्फत ४१ वर्षीय ब्याटर डुप्लेसिसलाई टोलीमा भित्र्याएको जानकारी गरायो ।
विश्व प्रख्यात क्रिकेटर डुप्लेसिस आसन्न एनपिएलको दोस्रो संस्करण खेल्ने विदेशी खेलाडीमध्ये सबैभन्दा ठूलो नाम हो । सन् २०१८ र २०२१ मा चेन्नाई सुपर किङ्सले इन्डियन प्रिमियर लिग(आइपिएल)को उपाधि जित्दा डुप्लेसिस टोलीका सदस्य थिए । उनीसँग आइपिएलमा रोयल चेलन्जर्स बैंगलुरुको नेतृत्व गरेको अनुभव पनि छ ।
डुप्लेसिसको अनुबन्धले एनपिएलको गरिमा थप बढाउने विराटनगरले बताएको छ ।
‘फाफ डुप्लेसिस जस्तो विश्वस्तरीय खेलाडी आउनु विराटनगर किंग्स र एनपिएलको लागि गर्वको कुरा हो । उनको आगमनले विराटनगर किंग्स र एनपिएलका लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन उत्साह प्रदान गर्नेछ,’ टिम डाइरेक्टर दीपेन्द्र चौधरीले भने ।
अन्तर्राष्ट्रिय क्रिकेटमा डुप्लेसिसले ६९ टेस्ट, १४३ एकदिवसीय र ५० ट्वान्टी-२० खेल खेलेका छन् ।
सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगरले पहिलो संस्करण सोचेअनुरुपको प्रदर्शन गर्न सकेको थिएन । सिंगल राउन्ड रोविन लिगपछि टोली छैटौं स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएको थियो । त्यतिबेला आइरिस प्रशिक्षक केभिन ओ’ब्राइनको नेतृत्वमा रहेको विराटनगरलाई विश्वप्रख्यात क्रिकेटर मार्टिन गप्टिलले उर्जा दिएका थिए ।
 
 
  
  
  
  
  
  
  
  
 
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 