काठमाडौं । भर्खरै नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । तय छ, यो राजीनामाले ल्याएको तरंगले नेपाली फुटबललाई लामै समयसम्म प्रभावित पारिरहनेछ ।
साँच्चै रसले किन राजीनामा दिए त ? सबैले यसबारे विश्लेषण गरिरहेका छन् । सबैको आम राय के भन्दा पछिल्लो समय नेपाली फुटबलमा जे जस्तो भइरहेको छ, त्यसलाई लिएर उनी खुसी थिएनन् ।
यी आँकडाले पछिल्लो समय नेपाली पुरुष राष्ट्रिय टिमको प्रदर्शन कस्तो रह्यो भन्ने दृश्य प्रस्तुत गर्नेछन् ।
यहाँ उनले राजीनामा गर्नुको कारणबारे चर्चा गर्न खोजिएको होइन । यहाँको चर्चा उनीसँगै पछिल्ला पाँच प्रशिक्षकको कार्यकालको हो । उनीहरूको कार्यकालमा नेपाली फुटबलले आत्मसात गरेका नतिजाहरूको हो ।

उनीहरूको नेतृत्वमा नेपालको प्रदर्शन कस्तो रह्यो, त्यसबारे छोटकरीमा आँखा लगाउने छौं । यी आँकडाले पछिल्लो समय नेपाली पुरुष राष्ट्रिय टिमको प्रदर्शन कस्तो रह्यो भन्ने दृश्य प्रस्तुत गर्नेछन् । कतै एउटा प्रशिक्षक आउने र जाने मात्र त भइरहेको छैन ? जे भइरहेको छ, खराब मात्रै त भइरहेको छैन ?
म्याट रस
यी अस्ट्रेलियाली प्रशिक्षकले नेपाली पुरुष राष्ट्रिय टिम सम्हाल्ने भनेर एक वर्षका लागि सम्झौता गरेका थिए । तर उनी आठ महिना मात्र टिके । अनि विदेशी भूमिबाट राजीनामा पठाए । उनको नेतृत्वमा नेपालले सात खेल खेलेको छ र त्यसमध्ये एकै खेलमा मात्र नेपाली टिम विजयी भएको छ । यो जित सिंगापुरविरुद्ध थियो । यसबीच नेपाल लाओसको हातबाट साह्रै नमज्जाले पराजित पनि भयो ।
नवीन न्यौपाने

रस आउनुअगाडि नेपाली टिमले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो र त्यसमा नेपाली टिमको जिम्मा पाए, पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपानेले । नेपालमा जतिपनि युवा प्रशिक्षक छन्, तीमध्ये नवीन सबैभन्दा राम्रा र भलाद्मी मानिन्छन् । एक प्रकारले उनलाई भाग्यले पनि साथ दिइरहेको छ । उनको नेतृत्वमा नेपालले दुई खेल खेलेको थियो । त्यसमध्ये एकमा जित हासिल गर्यो भने अर्कोमा नेपाल पराजित भयो ।
भिन्सेन्जो अल्बर्टो एनेस
नवीनभन्दा अगाडि नेपाली राष्ट्रिय पुरुष टिमका प्रशिक्षक थिए, इटालीका भिन्सेन्जो अल्बर्टो एनेस । उनले भने केही लामै समय प्रशिक्षकको हैसियतमा नेपाली टिमको नेतृत्व गर्ने अवसर पाए । उनको नेतृत्वमा नेपाली राष्ट्रिय टिमले १७ खेल खेलेको थियो ।
तर अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२४ को मध्यमा पुगेर एनेससँग नयाँ अनुबन्ध गर्न चाहेन । उनको नेतृत्वमा नेपालले १७ खेलमध्ये चारमा जित हासिल गर्यो । सबैभन्दा उल्लेखनीय तथ्य के भने उनको नेतृत्वमा खेलेका पछिल्ला ६ खेलमध्ये पाँचमा लगातार हार बेहोरेको थियो ।
प्रवेश कुटवाल
एनेसले नेपालको जिम्मेवारी लिनुअघि एक खेलका लागि प्रशिक्षकको भूमिकामा आएका थिए, प्रवेश कुटवाल । त्यो खेल थियो, पाकिस्तानविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय प्रतिस्पर्धा । त्यसमा नेपाल विजयी पनि भयो । के एकै खेलका लागि कामचलाउ पाराले कसैलाई प्रशिक्षक नियुक्त गर्नु ठीक थियो त ? यसको उत्तर एन्फासँग मात्र हुन सक्छ, किनभने यसरी निर्णय गर्ने उसले मात्र हौ ।
प्रदीप हुमागाई

प्रवेशजस्तै एक खेलका लागि मात्र नेपाली टिमको प्रशिक्षक हुने अवसर पाएका थिए, प्रदीप हुमागाईले । उनको त्यो एक खेल बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थियो । त्यसमा पनि नेपाल नै विजयी भयो । त्यो त्यही खेल हो, जसमा अञ्जन विष्टले शानदार ह्याट्रिक गरेका थिए । व्यक्तिगत रूपमा यो ऐतिहासिक प्रदर्शन थियो । तर प्रदीप पनि एकै खेलका लागि आएका थिए, गइहाले पनि ।