काठमाडौं । विश्वकपको कांश्य पदक विजेता उसु खेलाडीहरुले सो क्रममा सहभागी हुँदा भएको खर्च युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले रोकेकोमा असहमति जनाउँदै तत्काल रकम निकासाका लागि अनुरोध गरेका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उसुका अन्तर्राष्ट्रिय पदकधारी खेलाडीहरु दीपक हमाल, विजय सिंजाली, पासाङ शेर्पा, राजिव तामाङ र निमा घर्ती मगरले गतवर्ष अक्टोबरको अन्त्यमा जापानको योकोहामामा भएको थाउलु विश्वकपमा सहभागी भएर कांश्य पदक जित्दा खाना तथा बसोबासबापत भएको खर्च तत्काल उपलब्ध गराउन माग गरे ।
गतवर्ष नै अप्रिलमा चीनको जियानज्यिनमा सम्पन्न विश्वकप छनोटमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङबाट बिदाई भएर १४ खेलाडीसहितको टोलीले सहभागिता जनाएको थियो । सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय उसु महासंघले नेपालका पाँच खेलाडीलाई विश्वकपमा सहभागिताका लागि छानेको थियो ।
परिषदबाट विश्वकप सहभागिताको क्रममा खेलाडीको खाना र बसोबासको खर्च बिलअनुसार भुक्तानीको प्रकृया अन्तिम चरणमा पुगेको बेला मन्त्री चौधरीले रोकेको खेलाडीहरुले आरोप लगाएका छन् ।
मन्त्री चौधरीको रवैया खेल र खेलाडीप्रति सकारात्मक नरहेको गुनासो गर्दै खेलाडीहरुले जारी गरेको विज्ञप्तिमा भनेका छन् । खेलाडीहरुले भुक्तानीमा सहजीकरणका लागि अनुरोध गर्न दुई पटक मन्त्रालयमै गएर मन्त्री चौधरीलाई भेट्दा उनले ‘खेलाडी आफैले लागेको खर्च तिर्नु । बाहिर खेल्न जानुनजानुसँग मलाई कुनै मतलब छैन । जसले पठाएको हो, उसैलाई भन्न जानु’ भनेको खेलाडीहरुको आरोप थियो ।
नेपालबाट प्रतिभावान खेलाडीहरु प्रत्येक दिन विदेश पलायन हुनुमा सम्पूर्ण खेलकुदको अभिभावकत्व ग्रहण गर्नुपर्ने मन्त्रालयको नेतृत्वबाट हुने यस्तै अपमानजनक व्यवहार मुख्य कारण रहेको खेलाडीहरुको जिकिर थियो । पदक विजेता खेलाडीहरुले आफूहरु अत्यन्तै दयनीय अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै न्यायका लागि अपिल गरेका छन् ।
‘हामी राष्ट्रिय खेलाडीहरुको पारिवारिक आर्थिक अवस्था ज्यादै कमजोर छ । धेरै दुख मिहिनेत गरेर केहि रकम जोहो गरि परिवार हेर्नु छ । खेलको माध्यम वाट राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनु छ । तै पनि हामी खेलाडीमाथि किन राजनीतिक कारण र विभेद गरिन्छ,’ खेलाडीहरुले प्रेस विज्ञप्तिमार्फत प्रश्न गरेका छन् ।