काठमाडौं । हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
बिहीबार सो कोन पोस्थित हङकङ रंगशालामा सम्पन्न खेलमा गोलकिपर तथा कप्तान किरण चेम्जोङले हङकङका तीन प्रहारलाई जाली चुम्न दिएनन् । उता पोजिसन कायम राखे पनि नेपालले कुनै पनि अवसर सिर्जना गर्न सकेन ।
खेलको ४२औं मिनेटमा सोरेस जुनियरले करिब २२ यार्ड परबाट गरेको प्रहार किरणले सहजै नियन्त्रणमा लिएका थिए । दोस्रो हाफमा किरणले हङकङका थप दुई प्रहारलाई विफल पारिदिए ।
खेलको ६९औं मिनेटमा बक्स नजिकैबाट यु जे नामले गरेको प्रहार किरणले बचाए । पाँच मिनेटपछि हङकङको गोलमा किरण पुनः बाधक बने । बक्स नजिकैबाट फर्नान्डो अगस्टोले पहिलो बारमा गरेको फ्रिकिक प्रहारलाई किरणले बचाए । यसअघि रक्षक अनन्त तामाङले जुनियरलाई फउल गर्दा हङकङले सेटपीस प्राप्त गरेको थियो ।
निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा फरवार्ड सृजनराज गौतमले अञ्जन विष्टलाई प्रतिस्थापन गर्दै पहिलो अन्तर्राष्ट्रिय क्याप जिते । इन्जुरी समयमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मणि लामा दोहोरो पहेँलो कार्ड खाँदै मेदानबाट बाहिरिए । इन्जुरी समयको अन्तिम तीन मिनेट १० खेलाडीमा समेटिएको नेपालविरुद्ध दबाब बनाए पनि हङकङले गोल भने गर्न सकेन ।
अबको ५ दिनपछि २०२७ एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ । त्यही दिन नेपालले लाओससँग खेल्ने तालिका छ । छनोट प्रतियोगिताको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई आतिथ्यता गरेको हो ।