काठमाडौं । नेपाली खेलकुदका लागि नौलो खेल क्याच एण्ड सर्भ बलको विश्वकप खेल्न सात सदस्यीय महिला टोली सोमबार ग्रिस प्रस्थान गरेका छन् ।
आमा भइसकेका महिलाहरुको बीचमा यो प्रतियोगिता मंगलबार सुरु भएर ६ दिन चल्ने बताइएको छ । ग्रिसको एथेन्सबाट ८० किलोमिटर टाढाको सहर लउत्राकीमा हुने प्रतियोगिता पहिलो महिला विश्वकप हो ।
घरेलु काममा बढि व्यस्त हुने महिलाको स्वास्थ्य अवस्था सही ठाउँमा राख्नका लागि यो खेलको अवधारणा आएको बताइन्छ । प्रतियोगितामा १८ देशका ३५ टिम सहभागी हुने छन् ।
नेपालबाट सहभागिता जनाउने खेलाडीहरुमा माला खनाल, विसु पाण्डे, कादम्बरी दाना श्रेष्ठ, निर्मला गुरुङ, लमु आल्मोग, दिना न्यौपाने र पवित्रा ढकाल छन् । नेपाली टोलीका आल्मोग, न्यौपाने र ढकाल इजरायलमा कार्यरत महिलाहरु हुन् । उनीहरु उतैबाट ग्रिस पुग्नेछन् भने बाँकी चार खेलाडी सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्रिसका लागि रवाना भए ।
भलिबलजस्तै सानो कोर्टमा खेलिने क्याच एण्ड सर्भ बलमा एक पटकमा एउटा टिमबाट ६ खेलाडी मैदान उत्रिन्छन् । तर टिममा भने कुल ८ खेलाडी हुन्छन् । नेपाली खेलाडीको भिसा समस्या आएकाले विदेशमै बस्दै आएकामध्येबाट सात जनाको मात्र सहभागिता रहने एक सहभागीले बताइन ।
नेपालमा यो खेलको कुनै औपचारिक अस्तित्व छैन ।