काठमाडौं । नेपाल जितकुन्डो मार्सल आर्ट्स संघको आयोजनामा दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार र आइतबार हुने भएको छ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
प्रतियोगितामा नेपालबाट ३०, भारतबाट २८, श्रीलंकाबाट ९ तथा बंगलादेशबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यो प्रतियोगिता दक्षिण एसियामा पहिलो पटक आयोजना हुन लागेको हो ।
पुरुषतर्फ पाँच र महिलातर्फ दुई गरि सात स्पर्धामा समावेश छ । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा खेल हुनेछ। महिलामा ५५ केजीमुनि र ५५ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको कुल पुरस्कार राशी ३ लाख ५० हजार रुपैयाँ छ। स्वर्ण, रजत र कांस्य पदक विजेतालाई कति रकम दिने भन्ने प्रतियोगिताअघि टुंगो लगाउने आयोजकले जनाएको छ।
टोखा नगरपालिकाको मुख्य प्रायोजनका रूपमा प्रतियोगितासँग जोडिएको छ । प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् ।