पोखरा । सहारा क्लब पोखराको २६औं वार्षिकोत्सव एवं साधारणसभा सम्पन्न सोमबार भएको छ ।
पोखरा-१७, दोबिल्लास्थित सहारा फुटबल एकेडेमीमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।
मन्त्री थापाले सहाराको कार्य अनुकरणीय रहेको उल्लेख गर्दै शिक्षा र खेलकुदलाई सँगसँगै जोडेर जानुपर्ने सुझाव दिए ।
सो अवसरमा यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजन कांस्की संवाददाता परशुराम शर्मा सम्मानित भए । उनलाई प्रमुख अतिथि मन्त्री थापाले २५ हजार रुयौयासहित प्रसंशा पत्र हस्तान्तरण गरे ।
पोखरालाई कार्यक्षेत्र बनाइ लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशीलमध्ये एक जना पत्रकारलाई क्लबले सो पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि, सो पुरस्कारबाट करिब डेढ दर्जन पत्रकार पुरस्कृत भइसकेका छन् ।
यस्तै, सहारा उत्कृष्ट सदस्य सम्मान लीलबहादुर थापाले प्राप्त गरे । क्लबमा दुई कार्यकालसम्म सहकोषाध्यक्ष भएर काम गरेका थापा हाल सहारा फुटबल एकेडेमीको व्यवस्थापन समितिका सदस्य छन् ।
कार्यक्रममा संस्थाका महासचिव रामजीप्रसाद अधिकारी र कोषाध्यक्ष बिनु रानाले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरे ।
क्लबद्वारा संचालित फुटबल एकेडेमीको अक्षयकोषमा अमेरिका बस्ने नेपाली समुदायबा सहयोग प्राप्त भएको छ । क्लबका मानार्थ सदस्य नारायण कार्कीले २ लाख १७ हजार ९०० रुपैयाँ क्लब अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरे ।
क्यान्सस राज्यको ओभरल्यान्ड पार्कमा बसोबास गर्ने नेपाली समुदायका २३ जनाले उक्त रकम संकलन गरेको जानकारी कार्कीले दिए ।
उक्त अक्षयकोषमा हालसम्म ३ करोड १७ लाख संकलन भइसकेको क्लब महासचिव अधिकारीले जानकारी दिए ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा क्लबले ५१ हजार सहयोग गरेको छ । उक्त रकम बराबरको चेक प्रमुख अतिथि मन्त्री थापा र क्लब अध्यक्ष केशवराज बरालले मञ्च अध्यक्ष दीननाथ बराललाई संयुक्तरुपमा हस्तान्तरण गरे ।
बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, सम्मानित व्यक्तित्व परशुराम शर्मालगायतले आफ्नो धारणा राखेका थिए ।