काठमाडौं। भुटानको थिम्पुमा बिहीबारदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगिताको पहिलो दिन नेपालले आठ स्वर्ण र एक रजत पदक प्राप्त गरेको छ ।
सिनियर महिला एकल कातामा एलिसा रास्कोटीमगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला २१ वर्षमा सन्जु देशार र पुरुष क्याडेटमा रेहान जावेदले नेपाललाई स्वर्ण दिलाए ।
यसैगरी सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघका मिडियाको अर्डिनेटर गजेन्द्रबहादुर खपाङगीले जानकारी गराए ।
एलिसाले सेमिफाइनलमा भुटान र फाइनलमा भारतलाई पराजित गरिन भने स्वनिमले सेमिफाइनलमा श्रीलंका र फाइनलमा भारतलाई पराजित गरेका थिए ।
त्यसैगरी सन्जुले फाइनलमा भुटान तथा रेहानले भारतलाई पराजित गरे । जुनियर पुरुष कातामा भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियरकै महिला एकल कातामा श्रीलंकासँग पराजित नेपालकी रेनिशा रिमालले रजत पदक हात पारिन् ।
प्रतियोगिताको उद्घाटन भुटानका राजकुमार टासु जिगेलले गरेका थिए ।